लाओस विरुद्ध घरेलु मैदानमा विश्वकप छनोट खेल्न नेपाल तयार
विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय टोली तयार रहेको प्रशिक्षक र कप्तानले बताएका छन्।
नेपालले बिहीबार लोओस विरुद्ध खेल्दै विश्वकप छनोट यात्रा शुरू गर्नेछ। नेपालले भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लाओस विरुद्ध खेल्नेछ।
खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो प्रशिक्षक करिअरको पहिलो विश्वकप छनोट भएकाले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए। “यो मेरो पनि पहिलो विश्वकप छनोट हो। मैले आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको छु,” प्रशिक्षक एनिसले भने।
टीममा रहेका नयाँ र ऊर्जावान् युवा धेरै हदसम्म आफ्नो शैलीमा निपुण भइसकेको उनको भनाइ थियो। तयारी गर्न पर्याप्त समय भएकाले नेपाली खेलाडी शारीरिक, मानसिक र प्राविधक रूपमा तयार भएको उनले बताए। “रिजल्टबारे अहिले भन्न चाहन्नँ, भोलि मैदानमा देखाउँछु,” उनले भने।
राष्ट्रिय टोलीका कप्तान किरण लिम्बू (चेम्जोङ) ले यस पटक लामो तयारी गरिएको बताए। लाओसले पनि राम्रो तयारी गरेको र टीममा केही परिवर्तन ल्याएको भन्दै चेम्जोङले त्रिदेशीय कपमा जस्तो नहुने बताए। विदेशमा खेलिरहका खेलाडी मनीष डाँगी, रोहित चन्द र आफू फर्किएपछि युवा टीममा आत्मविश्वास बढेको उनको भनाइ थियो। चैतमा भएको त्रिदेशीय समूह चरणमा २-० ले जितेको नेपालले फाइनलमा २-१ को जित हात पारेको थियो।
चेम्जोङले बिहीबारको खेललाई भव्य बनाउन दर्शकलाई आग्रह गरे। दशरथ रङ्गशालामा हुने हरेक खेलमा १२औं खेलाडीका रूपमा घरेलु दर्शक हुने उल्लेख गर्दै कप्तान चेम्जोङले भने, “भोलि नेपालको ठूलो झन्डा देख्न पाऔं, सबै मिलेर राष्ट्रिय गान अनि रातो र चन्द्रसूर्जे गाऔं।”
नेपाली टोली: किरण लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, अनन्त तामाङ, अनिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विष्ट, सुदीप गुरुङ, राकेन लिम्बू, आवस लामिछाने, उत्सव राई, कृतीशरत्न छुन्जू, मनीष डाँगी, अन्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सन्दीप विष्ट।