राहुल महरा सहित चार जना विरुद्ध संगठित अपराधमा मुद्दा दायर
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा सहित चार जना विरुद्ध बुधबार मुद्दा दर्ता गरिएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले महरासहित लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङ विरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनीहरू विरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्धा दर्ता गरिएको छ।
चिनियाँ सुन तस्करी समूहको सहयोगीको भूमिकामा देखिएकाले पौडेल विरुद्ध मुद्दा दर्ता गरिएको हो। त्यस्तै, दावा यसअघि साढे ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थुनामा छन्। अर्का, निमा गुरुङ काभ्रेका बासिन्दा हुन्।
उनीहरूले विद्युतीय चुरोट (भेप)मा करीब नौ किलोग्राम सुन लुकाएर ल्याएको प्रहरीको अनुसन्धानमा देखिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालयले मुद्दा दायर गरेको हो।
चिनियाँ तस्कर समूहले दुबईबाट भेपमा लुकाएर ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २०७९ पुस १० गते नियन्त्रणमा लिएको थियो। विमानस्थल कार्यालयले भेप सहितको सुन गोदाममा राखेको थियो। गोदाममा सिल गरेर राखिएको सुन चोरी भएको थियो।