इजरायल-हमास युद्धमा २१ सय जनाको मृत्यु
इजरायल-हमास द्वन्द्वमा इजरायली र प्यालेस्टाइन गरी दुई हजार १५० जनाको मृत्यु भएको छ।
इजरायलको प्रतिरक्षा फौज (आईडीएफ)का प्रवक्ताले हमासको आक्रमणबट एक हजार २०० इजरायलीको मृत्यु भएको बताएका छन्। यसअघि २०० जनाको मृत्यु भएको बताइएको थियो।
“मृत्यु हुनेको संख्या एक हजार २०० पुगेको छ,” आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडिओ मेसेजमा भनेका छन्। उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिएका छन्।
यसैबीच इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौं घाइते भएको हमास सरकारका एक अधिकारीले बताएका छन्। योसँगै इजरायली सेनाको आक्रमणबाट ९५० जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजरायली हमलामा दर्जनौं आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिएका छन्। इजरायली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ।
यो पनि पढ्नुहोस् : गाजापट्टीमा किन सधैं मडारिन्छ युद्धको बादल?