आफ्नै देशवासी दुश्मन हुन सक्दैनन्
यदि देश र समाजलाई बुझ्नु छ भने देशवासीका विश्वासका समस्त साहित्य, वेदादि र मुन्धुम पढ्नै पर्छ। पढाउनै पर्छ। देशको सांस्कृतिक इतिहास यही हो भनेर अरूको बुझ्दै नबुझी आफ्नो कुरा थोपर्न मिल्छ जस्तो लाग्दैन।
क्रियाशीलताको आधारमा जीवनलाई मैले मुख्यतः तीन अवस्थामा गुजारें- विद्यार्थी, राजनीतिक कार्यकर्ता र इतिहासको अध्येता भएर। कहिले राजनीतिक कार्यकर्ता भएर समयलाई बढी उपयोग गरें जस्तो लाग्छ, कहिले छात्र भएर। इतिहासलाई बुझ्ने, बुझाउने विषयमा बढी समय खर्चेको जस्तो पनि लाग्छ।
म क्रान्तिबाट राजनीतिमा हामफाल्दा देशमा शिक्षादीक्षा, विकास-निर्माण केही थिएन। राजधानीतिर केही थियो कि, गाउँ नै गाउँले बनेको देशका देशवासी त रोग, भोकले पीडित थिए। अशिक्षा, गरीबी, पछौटेपन व्याप्त थियो। आजको जस्तो नागरिक भएका थिएनौं, शासकका नजरमा रैती, प्रजा मात्र थियौं। उज्यालो भविष्यको निम्ति लड्नुपर्छ, लडेर मात्र अधिकार लिन सकिन्छ भन्ने चेतना पनि नभएको वेला कार्यकर्ता भएँ र लड्भिड्को राजनीतिमा भूमिका निभाएँ। लामो संघर्षपछि हाम्रो पुस्ताले देशमा जनाधिकार स्थापित गरिछाड्यो।
कारणवश राजनीतिक सक्रियता त्याग्नुपर्यो। इतिहासका पानाहरूमा आँखा जोत्न थालियो। नेपालको इतिहासले एउटा निश्चित मार्ग तय गरिसकेको थियो। अझ असहमतिका कुरा सुन्न र बुझ्न चाहने गरी एकोहोरिंदा लाग्थ्यो- इतिहासको क्षेत्रमा अझै प्रजातन्त्र आउँन बाँकी नै छ। दुई दशकअघिको यस्तो स्थितिमा इतिहासलाई जरैदेखि बुझ्ने मनसायले जुटें।
इतिहास यस्तो क्षेत्र हो जसले आफू इतरकालाई तह लगाउन सक्छ। कसैको इतिहास बङ्ग्याउने, लुकाउने, नलेखिदिने, प्रमाणहरू नष्ट गरिदिने तथा अभीष्टहरू कथेर नभएको कुरा पनि हो पारेर फूलझडी लगाइदिने काम पनि हुनसक्छ। बहादुरलाई कायर र कायरलाई बहादुर, सज्जनलाई दुर्जन र दुर्जनलाई सज्जन जस्ता उल्टासुल्टा मनगढन्ते कुरा लेखी प्रचार गरिदिने खतरा रहन्छ। यस्ता काम प्रायः सत्ताकै आडभरोसामा हुने गरेको पाइन्छ।
त्यस्तो इतिहासलाई देशको इतिहास भनियो भने अपनत्व जाग्दैन, भावनात्मक एकता हुँदैन। सर्वस्वीकार्य नभएपछि विवाद, द्वन्द्व चर्कन्छ। त्यसमाथि ‘आफ्नो कथा सबैले पढोस् अनि अरूको कतै कुरै नउठोस् भन्ने धारणा राख्ने मानिसहरूले नै संसारलाई अशान्त बनाएको घटनाले इतिहास भरिएको छ’ (क्षेत्री, २०८०: १६ असार)।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने भूमिकाबाट इतिहासलाई वञ्चित गरेका यस्ता घटना अनेक छन्।
एउटा अनुरोध के पनि हो भने हामीले यदि देश र समाजलाई बुझ्नु छ भने देशवासीका विश्वासका समस्त साहित्य, वेदादि र मुन्धुम प्रत्येकले पढ्नै पर्छ। पढाउनै पर्छ। देशको सांस्कृतिक इतिहास यही हो भनेर अरूको बुझ्दै नबुझी आफ्नो कुरा थोपर्न मिल्छ जस्तो लाग्दैन।
एक त हाम्रो सामाजिक बनोट त्यसै पनि जटिल छ। परस्परलाई राम्ररी नबुझी नजानी बोल्दा, लेख्दा तथा व्यवहार गर्दा हाम्रो सामाजिक सौहार्द्रतामा खलल मात्र पुग्नसक्ने सम्भावना रहन्छ। जुनसुकै धर्म, सम्प्रदाय, जातजातिका भए पनि आफ्नै देशवासी दुश्मन हुन सक्दैनन्। इतिहासलाई साझा बनाऔं। पञ्चायतकालको ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’को धङ्धङी छ भने पनि त्याग्नै पर्छ (तुम्बाहाङ, सन् २०१०: ७२)।
सहमति र असहमति लेखको केन्द्रीय धारणा हो। म इतिहास लेखनमा प्रवेश गर्दा आजसम्म नलेखिएकाहरूको इतिहास लेख्दा साम्प्रदायिक भइँदैन, कसैको लेख्नु र कसैको लेख्दै नलेख्नु भन्ने हुँदैन, सबैको इतिहास लेख्नुपर्छ भन्ने हुटहुटी थियो। लेखन कार्य त्यसैका परिणाम थिए।
मुन्धुम वास्तवमा पूर्वपुरुषहरूको स्मृतिमा गाइने गीत हो। मुन्धुममा इतिहासका केही अंश ठम्याउन सकिने त्यसैले हो। पछिल्ला पुस्ताले त्यसलाई विभिन्न प्रयोजनको लागि उपयोग गरे, त्यो अर्कै विषय हो।
इतिहासमा थिचोमिचो विरुद्ध ‘आक्षेप र पाठक प्रतिक्रिया’ (वि.सं. २०७२) प्रारम्भकालीन लेखहरूको सङ्कलन थियो। इतिहास पहिचान: प्राचीन नेपाल, किरात र लिम्बू इतिहास (वि.सं. २०७८)मा सम्बद्ध इतिहासका सबै विवादित मुद्दाहरूका प्रतिनिधि लेखहरू राखिएका छन्।
लिम्बू इतिहासको कुरा
नलेखिएको इतिहासमध्ये लिम्बूको पनि हो। र जुन विषय इतिहासविद्का नजरमा परेका छैनन् तिनैलाई प्राथमिकता दिइएको पुस्तक हो लिम्बू इतिहास। पुस्तकमा लिम्बूका केही आधारभूत विषयसँग सम्बन्धित सात वटा लेख सङ्गृहित छन्।
यस पुस्तकमा सङ्कलित लेख ‘लिम्बू र तिब्बती जातिका अन्तरसम्बन्ध’मा चारैतिरबाट भेलिएका मानव समूहको मिसमासबाट बनेको जाति नै आजका लिम्बुवानका लिम्बूहरू हुन् भन्ने मान्यता स्थापित गरियो। तिब्बतबाट हिमाल दक्षिणको यस पखेरामा प्रागैतिहासिक कालदेखि आएका मानव समूहलाई नै लिम्बू मुन्धुमले ‘सावा येत्हाङ’ भनेर सम्बोधन गरेका जाति थिए। तिनले नै मुन्धुमको निर्माण गरे।
मुन्धुम वास्तवमा पूर्वपुरुषहरूको स्मृतिमा गाइने गीत हो। मुन्धुममा इतिहासका केही अंश ठम्याउन सकिने त्यसैले हो। पछिल्ला पुस्ताले त्यसलाई विभिन्न प्रयोजनको लागि उपयोग गरे, त्यो अर्कै विषय हो।
पहिले, कुनै मानव समूह जातिको रूपमा विकसित भइसकेका थिएनन्। समूह (कविला) को कुनै नाम, जात, थर थिएन। त्यस वेला नामको आवश्यकता पनि पर्दैनथ्यो। जब पहिचानको आवश्यकता महसूस भयो, त्यसपछि जाति, वंशनाम, कुलनाम, थर आदि समाजमा प्रचलनमा ल्याइए। वंशनाम, कुलनाम, थरको उत्पत्ति र प्रयोग आठ सयदेखि हजार वर्षअघिबाट मात्र प्रचलनमा आएको इतिहास पाइन्छ।
दोस्रो लेख छ ‘लिम्बू र लाप्चाका ऐतिहासिक सम्बन्ध’। लिम्बू र लाप्चाको सम्बन्ध ऐतिहासिक मात्र हो, लामो यात्राको क्रममा मार्गमा भेटिएका मिल्ने साथी। यी दुई जातिको कहिले कसरी भेट भयो भन्नेबारे खोजतलास हुन अझै बाँकी नै छ। जे जसरी भए पनि यी दुई जातिबीच अत्यन्तै सुमधुर सम्बन्ध रह्यो। लामो समयसम्म एकै स्थान र परिवेशमा छँदा नवागन्तुकले ती दुई भिन्न जाति हुन् भन्ने भेद नै झन्डै पाएनन्। लिम्बू र लाप्चाको सम्बन्धलाई कुन हदसम्म खुट्याउनु पर्छ भन्ने यस लेखको आशय हो।
के सिक्किमको सिमाना दुधकोशीसम्म थियो? सिक्किमले चर्चेको मोरङ क्षेत्र अर्थात् तराई इलाका के त्यसले युद्धमा जितेको थियो? त्यतिसम्म पनि छानबिन नगरी लेखिएको इतिहास सिक्किमको हो। र, त्यसलाई जस्ताको तस्तै सार्ने काम नेपाली इतिहासविद्हरूले पनि गरेका छन्।
अर्को, लिम्बू र कोचबीच पनि केही न केही सम्बन्ध छ। त्यो सम्बन्धमा विजयनारायणबाट शुरू गरियो भन्ने आशय ह्यामिल्टनको थियो। तर विजयपुर र विजयनारायण सम्बन्धी जानकारी त्यतिमै सीमित छ। यसकारण, विजयनारायणको खोजतलास गर्ने जमर्को गरियो। तर सकिएन। कोचको इतिहासले कुनै सहयोग गरेन।
बरु, अनपेक्षित रूपमा दुइटा कुरा सामुन्ने आए। पहिलो- विजयपुर भूटानको करद राज्य थियो। दोस्रो- हरभाङ् राजा र भरभाङ् मन्त्रीको कथा।
विजयपुर भूटानको करद राज्य थियो भन्ने दाबीलाई प्रमाणले पुष्टि गर्न सकेको छैन। स्वयं भूटानको हैसियत उवेला कस्तो थियो भन्ने जानकारी पाठकलाई पनि होस् भनेर त्यसको परिचयात्मक विवरण दिइएको छ।
अविकसित पहाडे राजाहरू अहिले होस् वा उहिले, गरीबै हुन्छन्। त्यसमाथि भूटान जस्ता साना हिमाली राज्यहरू अझ निर्धन नहुने कुरै भएन। त्यसैले, आम्दानी दिने तराईका प्रदेशमा तिनका लालची नजर हरहमेशा हुँदो हो। तिनले युद्धबाट नभएर भूमिदानबाट मात्र त्यस्ता इलाकाहरू प्राप्त गर्न सक्थे, सकेका थिए।
दाबी अनर्गल थियो भन्ने सरकारी कागजपत्र नहुनुले पनि पुष्टि गर्छ। तिनकै इतिहास अनुसार नेपालको नकथली (रसुवा) गुम्बाका कुनै लामाको टिपोटलाई लिएर यस्तो दाबी प्रचार गरियो।
ताम्रपत्र छ भन्ने छेवाङले पनि खै प्रस्तुत गर्न सकेका? नकथली गुम्बाका लामाले बसिबियाँलो लेखेर गएका खेस्रालाई पछिल्ला इतिहासविद्हरूले मुद्दा बनाउनसम्म बनाए। तर, दाबी मिथ्या भएकाले कुनै मिति मिल्दैन।
एक जनाले त युद्धबाट नभई सहमतिबाट विजयपुर पृथ्वीनारायणले आफ्नो राज्यमा गाभे भन्ने हास्यास्पद कुरा लेखेका छन्। नेपाल र ब्रिटिश इन्डियाको कुनै सरकारी लेखापढीमा पनि यस्तो दाबीको प्रसङ्ग पाइएको छैन।
पुस्तकमा लिम्बूसँग मिलेर राज्य गर्ने सेन राजाहरूको नालीबेली पहिल्याउने प्रयास पनि भयो। तिनका द्वैधशासन र चरित्रलाई पनि केलाइयो। अध्ययनका क्रममा तथाकथित ‘सिन्तुसतिचन’को वास्तविकता अगाडि आयो। इतिहासको सतही अध्ययनले कतिको भ्रान्ति पैदा हुँदो रहेछ भन्ने यो गतिलो दृष्टान्त लाग्यो।
‘हिन्दुपतिसेन’को अपभ्रंश ‘सिन्तुसतिचन’ भयो। तिनीहरू सेन राजाहरू नै थिए। यो निर्विवाद सत्य हो। यसकै इतिहासको वरिपरि सिन्तुसतिचनको खोजी हुनुपर्ने र व्याख्या गरिनु पर्ने हो। तर, त्यसो नहुँदा इतिहास बहकिएको पाइन्छ।
अर्कोतर्फ, सिक्किमका प्राचीन जातिहरू, सिक्किम राज्य अस्तित्वमा आएपछिका सिमानाहरू सबै मनगढन्त लेखिएका छन्। के सिक्किमको सिमाना दुधकोशीसम्म थियो? सिक्किमले चर्चेको मोरङ क्षेत्र अर्थात् तराई इलाका के त्यसले युद्धमा जितेको थियो? त्यतिसम्म पनि छानबिन नगरी लेखिएको इतिहास सिक्किमको हो र त्यसलाई जस्ताको तस्तै सार्ने काम नेपाली इतिहासविद्हरूले पनि गरेका छन्।
सिक्किमी जातिको बनावटीलाई नै बङ्ग्याउने क्लाउड ह्वाइटका इतिहासको समेत राम्ररी चर्चा गरिनुपर्दथ्यो। तर, त्यसलाई सच्याएको पाइँदैन।
आखिरीको लेख ‘राय, राइ’ सँग सम्बन्धित छ। यसलाई पनि भरिसक्य जरैदेखि खोतल्ने कोशिश गरियो। त्यसो गर्दा कहिलेदेखि कुलनाम, कुलवंश, थर, उपाधि आदि हुन आए भन्ने जानकारी मिल्यो। त्यसको उत्पत्ति र प्रयोग आदि पनि जान्न पाइयो। तर, लिम्बूमा यो उपाधि कहिले शुरू भयो यकीनसाथ भन्न भने अझै खोजीकार्य गर्नुपर्छ लागेको छ।
विस्तृत विवरण लेखहरू हुँदो नै भनिएको छ। प्रबुद्ध पाठकद्वारा अध्ययन गरी छुटेका, गल्ती भएका जे छन् त्यसको जानकारी पाए अर्को संस्करणमा सुधार गरिने नै छ।
(नेम्वाङको ‘लिम्बू इतिहास’ पुस्तकको भूमिका।)