पाकिस्तानको कीर्तिमानी जित
आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ।
यसअघि पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले पराजित गरेको थियो। गएराति सम्पन्न श्रीलंका विरुद्धको खेलमा भने पाकिस्तान ६ विकेटले विजयी भयो।
श्रीलंकाले टस जितेर शुरूमा ब्याटिङ गर्ने निर्णय लिएको थियो। श्रीलंकाली ब्याटर कुशल मेन्डिस र सदीरा समराविक्रमाले क्रमशः १२२ र १०८ रनको शतकीय पारी खेलेका थिए। श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३४४ रनको विशाल स्कोर बनाउँदै पाकिस्तानलाई ३४५ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान एक समय सात ओभर दुई बलमा ३७ रनमा दुई विकेट गुमाएर कमजोर अवस्थामा पुगिसकेको थियो। तर पाकिस्तानका लागि विश्वकपमा डेब्यू खेल खेलिरहेका ओपनर अब्दुल्लाह शफिकले उत्कृष्ट पारी खेल्दै १०३ बलमा ११३ रन बनाए। उनले पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानसँग राम्रो साझेदारी बनाउँदै पारी सम्हाल्दै लगे। रिजवानले पनि १२१ बलमा अविजित १३१ रनको उत्कृष्ट पारी खेले। उनी ‘प्लेयर अफ द म्याच’ भए।
सउद शकील र इफ्तिखार अहमदले क्रमश ३१ र २२ रन बनाएपछि पाकिस्तानले कीर्तिमानी जित हासिल गर्यो। विश्वकप इतिहासमा हालसम्म कुनै पनि टोलीले यति ठूलो लक्ष्य सफलतापूर्वक पछ्याएका थिएनन्।
यसअघि आयरल्यान्डले सन् २०११ को विश्वकपमा इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य सफलतापूर्वक पूरा गर्दै कीर्तिमान रचेको थियो।
जितसँगै अङ्कतालिकामा पाकिस्तान चार अङ्क सहित दोस्रो स्थानमा छ। नेट रनरेटका आधारमा न्यूजिल्यान्ड शीर्ष स्थानमा छ। श्रीलंका भने दुई खेलमा दुई हार सहित अङ्कविहीन हुँदै आठौं स्थानमा छ।
पाकिस्तानले अब आफ्नो तेस्रो खेल भारत विरुद्ध खेल्नेछ। शनिबार यी दुई टोलीबीच अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा खेल हुनेछ। श्रीलंकाले भने अस्ट्रेलियाको सामना गर्नेछ।
यस्तै, हिजै भएको इङ्ल्यान्ड र बाङ्लादेश विरुद्धको खेलमा इङ्ल्यान्ड १३७ रनले विजयी भयो। इङ्ल्यान्डका लागि डाविड मलानले १०७ बलमा १४० रन बनाए। उनी खेलको प्लेयर अफ द म्याच भए।
आज भारत र अफगानिस्तान भिड्दै
विश्वकपमा आज भने भारत र अफगानिस्तान भिड्नेछन्। दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा हुने खेल नेपाली समय अनुसार २:१५ बाट शुरू हुनेछ।
विश्वकपको आफ्नो पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, अफगानिस्तान बाङ्लादेशसँग ६ विकेटले हारेको थियो।