इजरायलमा मारिएका साहका परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख दिने
प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले राहतस्वरूप पाँच लाख रुपैयाँ दिने भएको छ।
मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार साँझ शोक वक्तव्य मार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारका तर्फबाट राहत प्रदान गरिने जानकारी दिएका थिए। मुख्यमन्त्री यादवले आक्रमणमा परी ज्यान गुमाएका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्य भएको पनि बताए।
विज्ञप्तिमा भनिएको छ, ‘त्यस आक्रमणले १० परिवारको सपना भताभुङ्ग भएको छ। त्यो घटनाले हामी नेपाली शोकमग्न छौं। असमयमा अनाहक ज्यान गुमाउने युवाहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई यो महाविपत्तिको असह्य पीडा र वेदना सहन गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछु।’