के हो नोबेल पुरस्कार जित्ने अर्थशास्त्री क्लाउडिया गोल्डिनको योगदान?
गर्भनिरोधक चक्कीहरूको आविष्कारले महिलाको छनोटको अवसर, उच्च शिक्षा, स्वतन्त्रता, श्रमशक्ति सहभागिता र उत्पादकत्वमा ठूलो प्रभाव पारेको दृष्टिकोण गोल्डिनले पेश गरेकी छिन्।
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई दिइएपछि उनको अनुसन्धान के बारेमा थियो भन्ने स्वाभाविक चासो बढेको छ। रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले श्रम बजारमा लैङ्गिक असमानताका मुख्य कारकहरू उजागर गरेकोमा गोल्डिनलाई पुरस्कृत गरेको जनाएको छ।
श्रम बजारमा महिलाको सहभागिता र आम्दानीबारे ऐतिहासिक तथ्याङ्क केलाएर गोल्डिनले लैङ्गिक असमानताको स्रोतका कारणबारे नयाँ दृष्टिकोण दिएकी थिइन्।
मेरो बुझाइमा गोल्डिनको दुई क्षेत्रका काम निकै महत्त्वपूर्ण छन्। उनको निकै महत्त्वपूर्ण काम गर्भनिरोधक चक्कीले महिला श्रमशक्ति सहभागिता दर कसरी बढायो भन्ने अनुसन्धान हो जस्तो लाग्छ। सन् १९६० र ७० को दशकमा अमेरिकामा गर्भनिरोधक चक्कीको आविष्कारले महिलाको छनोटको अवसर, उच्च शिक्षा, स्वतन्त्रता, श्रमशक्ति सहभागिता र उत्पादकत्वमा ठूलो प्रभाव पारेको गोल्डिनको निष्कर्ष छ।
गर्भनिरोधक चक्कीको सुविधापछि महिलाहरूले विज्ञान, गणित जस्ता विषयमा सहभागिता जनाउन र प्रभाव पार्ने काम गर्न सक्ने अवस्थाको सिर्जना हुन सक्यो। किनभने उनीहरूले बच्चा जन्माउने बाध्यतामा बस्नु परेन। विवाह, करिअर, पढाइको निर्णय लिंदा गर्भनिरोधक चक्कीको प्रभाव पर्यो। गर्भनिरोधक सुविधाका कारण पुरुषहरूको विवाह गर्ने उमेर पनि ढिलासम्म तन्किने भयो, गर्भनिरोधक प्रयोग गरेपछि विवाह गर्न प्रतीक्षा गर्न सक्ने भए।
यसले पेशावृत्तिको निर्माणमा किन महत्त्वपूर्ण भूमिका खेल्यो भने महिलाले आफ्नो करिअर छनोट गर्न पाए। अर्कातिर, युवतीहरू विद्यावारिधि गर्नतिर लाग्दा उनीहरूका प्रेमी वा योग्य केटा गुमाउने जोखिम पनि कम भयो, विद्यावारिधिका लागि तयारी पनि गर्न पाउने भए। प्रजनन क्षमतामा महिलाको नियन्त्रणले अर्थतन्त्रलाई पनि सकारात्मक असर पार्ने भयो।
सन् १९३० सम्म पनि अमेरिकी विश्वविद्यालयमा छात्र र छात्राको संख्या बराबरी जस्तै थियो। दोस्रो विश्वयुद्धपछि छात्रको संख्या ह्वात्तै बढ्यो। १९९० को दशकपछि अहिले भने छात्राको अनुपात बढेको छ।
गर्भनिरोधकका कारण २० वर्षको हाराहारीमै बच्चा जन्माउनुपर्ने बाध्यता कम हुँदा श्रम बजारमा महिलाको सहभागिता दर बढ्न सकारात्मक असर पर्यो। यसको कारण पुरुष साथीका लागि युवतीले अवसर गुमाउनु परेन, स्वतन्त्रता पनि पाए। अमेरिकी समाजमा यसको सकारात्मक प्रभाव पर्यो।
गोल्डिनको अर्को अध्ययन पनि महत्त्वपूर्ण छ। उनले सरकार वा अर्को हस्तक्षेप विना पनि कामको प्रकृतिमा भएको परिवर्तनले महिलाको श्रमशक्ति सहभागिता दर बढेको विषयमा अध्ययन गरेकी थिइन्।
सरकारले केही नगर्दा समेत कतिपय क्षेत्रमा महिलाको सहभागिता दर बढिरहेको छ। चिकित्सा वा सूचना प्रविधि क्षेत्र त्यसको उदाहरण हो।
घरमै बसेर इन्टरनेटबाट काम गर्न सकिने, काम गर्ने समय लचक हुने हो भने महिलाको श्रम सहभागिता दर बढ्छ। कतिपय आफन्तले मलाई ‘छोरीलाई के पढाऊँ?’ भन्दा मैले ‘सूचना प्रविधि पढाउनू’ भनी सुझाव दिने गरेको छु। किनभने विषय पारङ्गतले घरमै बसेर पनि आम्दानी गर्न सक्छन्।
पहिला शटरबाट मात्रै सामान बिक्री हुनेमा अब इन्टरनेटबाटै बेच्न सकिने भएपछि महिलाले घरभित्रबाटै सामान बेच्न सक्ने भए। यसले उनीहरूको व्यावसायिक सम्भावना बढाउने भयो। तर यसका लागि ज्याला दर वा आम्दानी पनि उच्च हुनुपर्छ।
यसबारेको अनुसन्धानमा गोल्डिनले महत्त्वपूर्ण योगदान दिएकी छन्। गोल्डिनको मान्यता के छ भने भविष्यमा श्रम बजारमा महिलाहरूको सहभागिता कस्तो हुन्छ भन्ने कुराका लागि सरकार वा सरकारी कोटाहरू नै सबैथोक होइनन्, कामको प्रकृति कसरी परिवर्तन हुँदै जान्छ र कत्तिको महिलामैत्री हुन्छ भन्ने महत्त्वपूर्ण हो।
अमेरिकी तथ्याङ्कमा आधारित उनको अध्ययन हाम्रा लागि पनि महत्त्वपूर्ण छ। नेपालमा पनि महिलाको श्रम सहभागिता कसरी बढाउने भन्ने मुख्य मुद्दा छ। महिला घरमै खुम्चनुपर्दा उनीहरूले अवसर गुमाउनेदेखि अर्थतन्त्रले लाभ लिन नसक्ने स्थिति छ। खासगरी अनुसन्धान र शिक्षणमा महिला सहभागिता बढाउनुपर्छ।
हाम्रोमा त नीतिनिर्माण तहमै बसेका मान्छेले पनि महिलालाई चाहिनेभन्दा धेरै स्वतन्त्रता भयो भन्ने सुनेको छु। यस्तो सङ्कुचित सोच घातक छ।
गोल्डिन आर्थिक इतिहासकार पनि हुन्। उनी आर्थिक इतिहासमा सुविख्यात रोबर्ट फोगेलकी छात्रा पनि हुन्। उनी जर्नल अफ इकोनोमिक हिस्ट्रीकी पूर्व सम्पादक र ‘इकोनोमिक हिस्ट्री एशोसिएशनकी पूर्व अध्यक्ष पनि हुन्। उनका शुरूआती प्रकाशनहरू दासप्रथा आदिका बारेमा पनि थिए।
सन् १९७२ मा सिकागो विश्वविद्यालयबाट विद्यावारिधि गरेकी गोल्डिन सुप्रसिद्ध हार्वर्ड विश्वविद्यालयको अर्थशास्त्र विभागतर्फ प्रथम महिला प्राध्यापक हुन्। यसले पनि उनको प्रभावको छनक मिल्छ।
उनी अमेरिकन इकोनोमिक एशोसिएशनको १३६ वर्षको इतिहासमा अध्यक्ष हुने तेस्री महिला अर्थशास्त्री हुन् भने अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने पनि उनी तेस्री महिला हुन्।
यसअघि सन् २००९ मा एलिनर ओस्ट्रोन र २०१९ मा इस्थर डफ्लोले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए। एलिनर ओस्ट्रोन त शुद्ध अर्थशास्त्रीभन्दा पनि राजनीतिक अर्थशास्त्री हुन्। आर्थिक सुशासन, सामुदायिक सहभागिताका विषयमा अध्ययन गरेकी उनको अनुसन्धानको एउटा क्षेत्र नेपालको सामुदायिक सिंचाइ पनि थियो। म उनलाई एकदमै सम्मान गर्छु किनभने ‘ट्राजेडी अफ कमन्स’ को कुरा भइरहेका वेला उनले फरक तरीकाले हेरिन्। नयाँ तरीकाले, फरक दृष्टिकोणबाट हेर्न सक्नु सानो कुरा होइन।
गोल्डिनसँग पनि ऐतिहासिक तथ्याङ्कहरूलाई नयाँ ढङ्गले हेरेर वर्तमानको व्याख्या गर्न सक्ने असाधारण खूबी छ।
(काठमाडौं विश्वविद्यालयका प्राध्यापक अर्थशास्त्री पौडेलसँगको कुराकानीमा आधारित)