जीवित छन् अमर्त्य सेन
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा फैलिएको प्रसिद्ध अर्थशास्त्री नोबल पुरस्कार विजेता अमर्त्य सेनको निधनको खबर झूटो भएको भन्दै उनकी छोरी नन्दना सेनले खण्डन गरेकी छन्।
यस वर्षको नोबल पुरस्कार विजेता क्लाउडिया गोल्डिनको नाममा खोलिएको ‘फेक एक्स (साविक ट्वीटर) ह्यान्डल’ बाट उनको निधन भएको लेखिएको थियो। यसपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका थिए।
नन्दना सेनले केही बेरअघि मात्रै एक्समा पोस्ट गर्दै त्यो खबर झूटो भएको बताएकी हुन्।
‘साथीहरू तपाईंहरूको चासोलाई धन्यवाद। तर, यो भ्रामक समाचार हो। बाबा एकदमै ठीक हुनुहुन्छ। हामीले भर्खरै मात्र क्याम्ब्रिजमा सपरिवार सप्ताह बितायौं। गत राति मैले बाई भन्दा उहाँको अङ्कमाल सधैं जस्तै बलियो थियो। अहिले उहाँले हार्वर्डमा सातामा दुई वटा कोर्स पढाइरहनुभएको छ र जेन्डर सम्बन्धको किताबमा काम गरिरहनुभएको छ। सधैं जस्तै व्यस्त हुनुहुन्छ।’