नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन अझै केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भूभागमा मनसुन कायमै छ।
बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको हो। बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपालको पूर्वी तथा मध्य भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एकदुई दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
महाशाखाका मौसमविद् गंगा नगरकोटी भन्छन्, “देशको पूर्वी र मध्यभागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ।”
नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जून हो भने मनसुन बहिर्गमनको औसत मिति २ अक्टोबर हो। यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो मनसुन भित्रिएको थियो।
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा
नेपालमा यस वर्ष मनसुन अवधिमा ८८.५ प्रतिशत वर्षा भएको छ। नेपालमा मनसुन अवधिमा सरदर एक हजार ४७२ मिलिमिटर वर्षा हुने गरेकामा यस वर्ष एक हजार ३०३ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जूनदेखि सेप्टेम्बरको अवधिमा सरदरभन्दा कम वर्षा भएको थियो।
विभागका मौसमविद् सुदर्शन हुमागाईं आकलन गरे अनुसारै यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा भएको बताउँछन्। यद्यपि जोमसोममा भने २१०.७ मिलिमिटर वर्षा भयो, जुन सरदरभन्दा १३३.५ प्रतिशत हो।
काठमाडौंमा पनि सरदरको १०९ प्रतिशत अर्थात् एक हजार २८३ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा मनसुन अवधिमा सरदर एक हजार १७६.४ मिलिमिटर वर्षा हुन्छ। त्यसैगरी ओखलढुंगामा एक हजार ४९२.१ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १०७ प्रतिशत हो।
यस वर्ष जनकपुरमा ६३७.१ मिलिमिटर वर्षा मापन गरिएको छ। जनकपुरमा सरदर एक हजार १९५.८ मिलिमिटर वर्षा हुने गरेको छ। -रासस