भोलिबाट एमालेको मधेश प्रदेश अधिवेशन
नेकपा (एमाले)को पहिलो मधेश प्रदेश अधिवेशन भोलिबाट शुरू हुँदै छ।
बुधबार जनकपुरको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा अधिवेशनको उद्घाटन सत्र हुनेछ। अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।
अधिवेशनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमालेका मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेशमा सुशासनको आवश्यकता रहेकाले अधिवेशनले सुशासन स्थापना गरी मधेशमा पार्टीलाई थप बलियो बनाउने जानकारी दिए।
अधिवेशनमा मधेशभरिका एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहनेछ। जसमा ३३ प्रतिशत महिला, युवा र जनजातिका लागि आरक्षणको व्यवस्था गरिएको छ। बुधबार उद्घाटन सत्रका दिन पार्टीको मधेश प्रदेश कार्यालयको भवन शिलान्यास समेत गरिने कार्यक्रम छ।
अधिवेशनमा लाग्ने खर्चको व्यवस्था प्रतिनिधिको आन्तरिक लेभीबाट मात्रै गरिएको र कतै चन्दा वा सहयोग नलिइएको बताइएको छ। भट्टराईले अधिवेशनबाट सकभर सहमतिमा नेतृत्व चयन गर्ने तर प्रतिस्पर्धात्मक राजनीतिलाई पनि निषेध नगर्ने जिकिर गरे।