राहुल महरा जोडिएको सुन तस्करीको अनुसन्धान प्रतिवेदन सीआईबीमै फिर्ता
जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुसन्धान प्रतिवेदन फिर्ता पठाएको छ।
सरकारी वकील कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले प्रतिवादीहरूको थप बयान गर्नुपर्ने देखिएकाले सीआईबीलाई फाइल फिर्ता पठाइएको हिमालखबरलाई बताए। “थप बयान लिएर अनुसन्धान पूरा गर्ने निर्देशन सहित फाइल असोज २२ गते सीआईबीलाई पठाएका छौं,” उनले भने।
सीआईबीले यस प्रकरणमा मुछिएका पूर्व सभामुख एवं सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई अभियुक्त नबनाई अनुसन्धान सकाएको थियो। कृष्णबहादुर महराका छोरा राहुल सहित चार जनालाई भने प्रतिवादी बनाउनुपर्ने राय सहित सीआईबीले असोज १९ गते अनुसन्धान प्रतिवेदन सरकारी वकीलको कार्यालयमा पेश गरेको थियो।
राहुल, दावा छिरिङ, लोकेन्द्र पौडेल र निमा गुरुङलाई संगठित अपराध र भन्सार छलीको कसूरमा मुद्दा चलाउनुपर्ने भन्दै सीआईबीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।
यसअघि हङकङबाट आएको साढे ६० केजी सुन तस्करीमा नेपालस्थित व्यवस्थापक रहेका अभियोगमा दावा छिरिङ पुर्पक्षका लागि थुनामा छन्। लोकेन्द्र चिनियाँ तस्कर समूहको सहयोगीको भूमिकामा देखिएको सीआईबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। निमा भने फरार छन्। यो प्रकरणमा दाओजिन, लुई सहित ६ जना चिनियाँलाई पक्राउ गरेपछि प्रतिवादी बनाइने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
दावा भेप र साढे ६० केजी सुन तस्करीमा देखिएका पात्र हुन्। तर राहुल साढे ६० केजी सुन तस्करीमा संलग्न रहे/नरहेकोबारे भने सीआईबीको अनुसन्धान मौन छ। तस्करीको घटना सार्वजनिक भएपछि राहुलले पाँचथरी मोबाइल फेरे पनि सीआईबीले एउटा मात्र मोबाइलको फरेन्सिक जाँच गरेको थियो। राहुलले अन्य मोबाइल बुझाउन मानेका थिएनन्।
भेपभित्र लुकाएर ल्याइएको नौ केजी सुन गत पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शङ्कास्पद भन्दै रोकिदिएको थियो। रोकिएको सुन छुटाउन कृष्णबहादुर महरा र उनका छोरा राहुलले भन्सारका कर्मचारीलाई भनेका थिए।
सुन तस्करी समूहका चिनियाँ नागरिक दाओजिन वाङ र लुईसँग समेत महराद्वयको बारम्बार सम्पर्क भएको खुलेको थियो। यो सुन भन्सारबाटै चोरी भएपछि सीआईबीले अनुसन्धान गर्दा गिरोहमा महराद्वय जोडिएका हुन्। तर सीआईबीले दुवै जनालाई अभियोग नलगाई उन्मुक्ति दिएको थियो। जानीजानी उन्मुक्ति दिएको भन्दै आलोचना भएपछि भने गत भदौ १३ गते राहुललाई पक्राउ गर्न सीआईबी बाध्य भएको थियो।
कृष्णबहादुरलाई भने सीआईबीले कागज मात्र गराएको छ। जसमा उनले दाओजिनसँगको सम्बन्ध मात्र नभई भन्सार कर्मचारीलाई रोकिएको सामान कानून अनुसार छुटाउन मिल्ने/नमिल्ने बुझेको समेत स्विकारेका छन्।
राहुलले समेत सामान छुटाउन पहल गरेको स्विकारेका छन्। बाबुछोरालै नै सामान छुटाउन पहल गरेको स्वीकारे पनि सीआईबीले राहुललाई मात्र मुद्दा चलाउन सिफारिश गरेको थियो।