किसानलाई घोप्टे काँडाको व्यथा
मिचाहा वनस्पति घोप्टे काँडा (मिमोसा डिप्लोट्रिका)ले खेतीमा असर पुर्याउनुका साथै यसको घाँस खाएर खसीबाख्रा मर्ने भएकाले यसको नियन्त्रणमा तत्कालै प्राथमिकता दिइनुपर्छ।
दुई वर्षअघि भदौको तेस्रो साता झापाको जलथल जङ्गल र वरिपरिका क्षेत्रमा मिचाहा र खसीबाख्राका लागि घातक वनस्पति घोप्टे काँडा (वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्रिका’) फैलिंदै गरेको देखेको थिएँ। केही वर्षयता यस वनस्पतिको घाँस खाएर झापा र मोरङमा दर्जनौं बाख्रा मरेका छन्। यसपछि २०७८ असोज ६ मा हिमालखबरमा ‘पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा’ शीर्षकको लेख लेखें।
घोप्टे काँडा नेपालमा पहिलो पटक झापा र यससँग जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा एकाध ठाउँमा पाइएको वनस्पति विभागबाट सन् २०२० मा प्रकाशित जर्नल अफ् प्लान्ट रिसोर्सेस्को भोलम १८ मा उल्लेख छ। अमेरिकी महादेशमा उद्विकास भएको उक्त वनस्पति मिचाहा र खतरनाक वनस्पतिका रूपमा अफ्रिका, एशिया र अस्ट्रेलिया महादेशमा फैलिंदै छ। सन् १९७० को दशकमा भारत प्रवेश भएको यो वनस्पति त्यसको केही दशकपछि नेपाल प्रवेश भएको हुन सक्छ। तर वनस्पति अध्येताले सन् २०२० मा मात्र थाहा पाए।
यही असोजको दोस्रो साता विराटनगर पुगेको थिएँ। एक बिहान पुष्पलाल चोकदेखि पूर्वतर्फ घिनाघाट नजिकै गोरेटोमा हिंड्दै गर्दा यही वनस्पति देखें। यो वनस्पति के कति फैलिएको छ भनेर थाहा पाउन त्यसपछिका दुई बिहान विराटनगर महानगरपालिकाको वडा नं. १९ मा चहारें। कतै कतै प्रचुर मात्रामा र कतै भर्खर फैलिंदै गरेको देखें। पुष्पलाल चोक नजिक र बैजनाथपुरका निकै ठाउँमा घोप्टे काँडा फैलिंदा स्थानीय बासिन्दा हैरान रहेछन्।
घिनाघाट किनारमा घर भएका शंकर कामत (४२) नजिकै आगो लगाएर घोप्टे काँडा मास्दै थिए। उनले यो वनस्पति ‘शैतान’ भएको बताए। गत वर्ष उनका दुई वटा बाख्रा त्यसैको घाँस खाएर मरेका कारण ‘शैतान’ भनेका रहेछन्।
कामतका छिमेकीका बाख्राहरू पनि त्यही खाएर गत वर्षको साउनमा मरेछन्। यसबाट त्यस क्षेत्रमा यस वनस्पति ५/६ वर्षअघि नै प्रवेश भएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ।
लज्जावती झार जस्तै
घोप्टे काँडाको बोट एकदेखि तीन मिटरसम्म अग्लो हुन्छ। यसका पात र फूल लज्जावती झार जस्तै हुन्छन्। सामान्यतया भुइँमा लत्रिने यो वनस्पति अन्य वनस्पतिको सहारामा उभिन्छ। यसरी फैलिंदा ६ मिटरसम्म पुग्छ।
यसको काण्ड चारपाटे हुन्छ, जसमा पछाडि फर्केका मसिना काँडा हुन्छन्। यसका अतिरिक्त काण्डमा मसिना रौं जस्ता काँडा छपक्कै हुन्छन्।
दुई वटा धागा जस्ता काँडा भएका आधारमा यो वनस्पतिको वैज्ञानिक नाम ‘मिमोसा डिप्लोट्रिका’ राखिएको हो। ल्याटिन भाषामा डिप्लो भनेको दुई वटा र ट्रिका भनेको धागो हो।
लज्जावती झार जस्तै यसका पात स्पर्श गर्दा तत्कालै खुम्चिएर जोडिन्छन्। फूल पनि लज्जावती झारकै जस्तो गोलाकार झुण्डमा फिका प्याजी फुल्छ। सामान्यतया फूल कात्तिक–मंसीरमा फुल्छन्। तर सुक्खा ठाउँ र घमाइलोमा असोजको पहिलो साता नै फुल्छ।
गेडागुडी फल्ने परिवार अन्तर्गतको वनस्पति हो यो। यसको फलको कोसा १.५–३.० सेन्टिमिटरसम्म लामो र ०.४–०.६ सेन्टिमिटर चौडासम्म हुन्छ। कोसा केही घुमेको हुन्छ। एक फूलको झुन्डबाट बढीमा ३० वटासम्म कोसा लाग्छन्। एउटा कोसामा दुईदेखि पाँच वटासम्म बीउ हुन्छन्। यस आधारमा एक थुँगा फूलबाट ६० देखि १५० वटासम्म बीउ बन्छन्। बीउ हावा, चरा र मानिसका गतिविधिबाट सजिलै एक ठाउँबाट अर्को ठाउँमा पुग्छन्।
घोप्टे काँडा बीउबाट मात्र होइन, हाँगाको सानो भाग जमीनमा खस्यो भने पनि पलाइहाल्छ। जमीनमा उम्रेपछि तुरुन्तै बढ्छ। यसलाई उखेल्दा जराको सानो भाग जमीनमा छुट्यो भने त्यसबाटै फैलिन्छ। यो प्रतिकूल वातावरणमा पनि मर्दैन। काँडा भएकाले जनावरले हत्तपत्त कुल्चँदैन।
अध्ययन र सर्वेक्षणको खाँचो
घोप्टे काँडा बाख्रापालकको निम्ति मात्र नभई खेती गर्नेका लागि पनि हानिकारक हो। किनभने यो खेतबारी र खुला ठाउँमा फैलिइहाल्छ। काँडाका कारण काट्न समस्या हुन्छ। छिप्पिएको बोट त उखेलेर फाल्नै गाह्रो पर्छ। उखेल्दा वा काट्दा यसको काँडा शरीरमा बिझे भने हत्तपत्त निस्कंदैन। भत्तभती पोल्छ।
झापामा र मोरङमा यो वनस्पति प्रवेश भएको थाहा पाउने पहिलो अध्येता फरेस्ट एक्सन नेपालका वनस्पतिविद् लिलानाथ शर्मा हुन्। फरेस्ट एक्सनले जलथल जङ्गलसँग सम्बद्ध सामुदायिक वनहरूसँग मिलेर अहिलेसम्म १५० जति स्थानमा यसको बोट उखेलेको छ। तर त्यहाँ उम्रिन रोकिएको छैन। सामुदायिक वन उपभोक्ता समितिहरूले उखेल्ने कार्यक्रम वेलाबखत सञ्चालन गरिरहेका छन्।
विराटनगर महानगरपालिकामा घोप्टे काँडा कुन कुन वडामा फैलिएको छ वा कस्तो अवस्थामा छ भन्ने थाहा पाउन महानगरको वातावरण शाखाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका शाखाहरूमा समन्वय गरी तत्कालै सर्वेक्षण गर्नुपर्छ। यसका निम्ति सर्वप्रथम मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरूले यो वनस्पति कस्तो हुन्छ, यसले कसरी नोक्सानी पुर्याउँछ भन्ने थाहा पाउनुपर्छ।
गरीबी निवारणका निम्ति सरकार तथा संघसंस्थाले यदाकदा विपन्नहरूलाई आयआर्जनका निम्ति बाख्रा उपलब्ध गराउने गरेका छन्। यस्तै, हाम्रा किसान खसीबोका पालनतर्फ पनि उन्मुख भएका छन्। घोप्टे काँडा नेपालमा केही वर्षअघि मात्र प्रवेश भएका कारण त्यो खाएर खसीबाख्रा मरेमा किसानले के कारणले आफ्ना चौपाया मरे भन्ने पत्तो नै पाउँदैनन्। घरआँगनमै यो वनस्पति फैलिएको र खसीबाख्राले खाएको देख्ने शंकर कामत जस्ता व्यक्तिले मात्र चौपाया मर्नुको कारण थाहा पाउँछन्।
पालिका र वडाले यसको बोटको तस्वीर र यसले हानि पुर्याउने विवरण समेटिएको पम्प्लेट, स्थानीय टेलिभिजन र सामाजिक सञ्जाल मार्फत सर्वसाधारणलाई सचेत बनाउनुपर्छ। साथै सबै वडामा यो वनस्पतिको अवस्थाबारे सर्वेक्षण गर्नुपर्छ। कहाँ, के, कति देखियो, त्यसको विवरण तयार गरी के कसरी हटाउन सकिन्छ भन्ने उपाय अवलम्बन गरिनुपर्छ। यो कात्तिक–मंसीरमा फुल्ने भएकाले फुलेको वेला नै यसलाई नष्ट गर्नु उपयुक्त हुन्छ।
विस्तारको इतिहास
उत्तर अमेरिकाको मेक्सिको हुँदै दक्षिण अमेरिकाका ब्राजिल, बोलिभिया, पाराग्वेसम्मको क्षेत्रलाई मिमोसा डिप्लोट्रिकाको उद्भव भूभाग मानिन्छ। डेटा इन ब्रिफ जर्नलको भोलम ४८ (जून २०२३) मा प्रकाशित लेख अनुसार यो वनस्पति १९औं शताब्दीको मध्यतिर चीनमा देखा परेको थियो। सम्भवतः अमेरिकी महादेशबाट चीनमा फूलकै रूपमा यो वनस्पति लगिएको हुँदो हो।
१९औं शताब्दीकै अन्तिम वर्षहरूमा इन्डोनेशियास्थित जाभा द्वीपमा यसलाई फूलका रूपमा रोपिएको थियो। अमेरिकी महादेश बाहिर पहिलो पटक फेला परेको यही नै थियो।
त्यसपछि मिमोसा डिप्लोट्रिकालाई सन् १९२० को दशकमा दक्षिण-पूर्वी केही सामुद्रिक देशमा पुर्याइएको थियो। अस्ट्रेलियाको क्विन्स्ल्यान्डमा सन् १९२९ मा सूचीकृत भएको थियो। फिजीमा सन् १९३६ मा सूचीकृत गरिएको थियो। सन् १९६०–७० को दशकमा थाइल्यान्ड, कम्बोडिया, श्रीलंका, मलेशिया, फिलिपिन्स, ताइवान, भियतनाम र भारतका केही भागमा पुगेको थियो यो।
सन् १९७०–८० को दशकमा पपुवा न्यूगिनीमा फैलिएको थियो। यस्तै, अफ्रिकी महादेशमा सन् १९७०–८० को दशकमा देखिएको थियो। सन् १९९०–२००० को दशकमा १० भन्दा बढी अफ्रिकी देशमा विस्तार भइसकेको थियो। सन् २०१० को दशकमा अफ्रिकी देश मलावी र युगान्डामा पनि भेटिए।
यस वनस्पतिले दक्षिण तथा दक्षिण-पूर्वी एशियामा रबर, नरिवल, उखु, गोलभेंडा, सूर्यमुखी, मकै, स्याउ, कागती, चिया, केरा, भुइँकटहर, कफी, सुर्ती खेतीलाई असर पुर्याइरहेको बताइन्छ। यो वनस्पति जति फैलियो, उति कृषक तथा राष्ट्रले घाटा बेहोर्नुपर्छ। यसलाई पूर्ण नियन्त्रण गर्न त सकिंदैन, विस्तार भने रोक्न सकिन्छ।
नेपाल जस्तो देशमा कुनै वनस्पतिले गर्ने असर र क्षतिबारे जानकारी राखिंदैन र ध्यान पनि दिइँदैन। यो बेवास्ताका कारण घोप्टे काँडा कोशी तरेर तराई भेगमा आइपुग्न सक्छ। यसलाई नियन्त्रण गर्न सरकारी निकायले उच्च प्राथमिकता दिनुपर्छ। अन्यथा यसले निकट भविष्यमा विकराल समस्या निम्त्याउन सक्छ।