कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन निर्माणसम्पन्न
कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन काम शुरू भएको ६ वर्षमा निर्माणसम्पन्न भएको छ।
कालीगण्डकी र यसका सहायक नदीहरूमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न निर्माण गरिएको प्रसारण लाइन करीब १४० किलोमिटर लामो छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३, दाना सबस्टेशनबाट शुरू भई पर्वत, बाग्लुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३, भुमहीस्थित नयाँ बुटवल सबस्टेशनसम्मको प्रसारण लाइन निर्माणसम्पन्न भएसँगै करीब एक हजार २०० मेगावाटसम्म विद्युत् प्रसारणका लागि पूर्वाधार तयार भएको छ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण गरेको थियो। पहिलो खण्ड अन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२, खुर्कोटसम्मको करीब ४० किलोमिटर प्रसारण लाइन निर्माणसम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिलो खण्डमा नै खुर्कोटमा २२०/१३२ केभी र दानामा २२०/१३२/३३ केभी सबस्टेशन निर्माणसम्पन्न भई सञ्चालनमा छन्।
दुवै सबस्टेशनमा १००/१०० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू राखिएका छन्।
दोस्रो खण्ड अन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेशनसम्मको करीब ९० किलोमिटर प्रसारण लाइन निर्माणसम्पन्न गरी सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको छ। यस खण्डमा २३६ वटा टावरहरू निर्माण गरिएको छ।
सुनवल नगरपालिका-१३, बडेराबाट नयाँ बुटवल सबस्टेशनसम्म २२० केभीको चार सर्किट (मल्टिसर्किट) लाइनका लागि टावरहरू निर्माण गरिएको छ। नयाँ बुटवलमा २२० केभीको सबस्टेशन निर्माण गरिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा आएपछि एकीकृत विद्युत् प्रणालीको विश्वसनीयता बढ्ने र नवलपरासी, रुपन्देही लगायत क्षेत्रको विद्युत् प्रणालीमा सुधार हुने बताए। यसअघि प्रसारण लाइनको क्षमताले नधान्दा कुश्मा सबस्टेशनबाट मोदीतर्फ थप विद्युत् पठाउन नसक्दा म्याग्दीमा सञ्चालित ४० मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको पूरै विद्युत् प्रवाह हुन नसकिरहेको तथा लमजुङको दोर्दी खोला करिडोरमा निर्माण भएका आयोजनाहरूको विद्युत् प्रसारणमा पनि समस्या भइरहेको पनि उनले बताए। कालीगण्डकी करिडोर सञ्चालनमा आएसँगै मिस्त्री लगायत आयोजनाहरूको विद्युत् पूर्ण रूपमा प्रसारण गर्न सकिने उनको दाबी छ।
दाना सबस्टेशनमा ४२ मेगावाटको मिस्त्री खोला, १४ मेगावाटको घार खोला, १३.६ मेगावाटको थापा खोला र पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाहरूको ७४.६ मेगावाट विद्युत् जोडिएको छ। उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् स्थानीय रूपमा खपत गरी बाँकी कालीगण्डकी करिडोर प्रसारण लाइन हुँदै नयाँ बुटवल सबस्टेशनतर्फ प्रवाह गरिएको छ।
मुस्ताङ, म्याग्दी लगायत जिल्लाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् पनि यही प्रसारण लाइनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।
रूख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ, स्थानीयको अवरोध, कोभिड-१९ महामारी लगायत कारणले कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण प्रभावित भएको आयोजना प्रमुख चन्दन घोषले बताए। कुश्मा-नयाँ बुटवल खण्ड निर्माणका लागि भारतीय कम्पनी एल एन्ड टीसँग २०७४ मंसीरमा ठेक्का सम्झौता भएको थियो। उक्त सम्झौता २०७४ पुसबाट कार्यान्वयनमा आएको थियो।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास ब्यांकको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत विद्युत् प्रणाली विस्तार परियोजनाबाट प्राप्त सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजना निर्माण गरिएको हो। आयोजनाको अनुमानित लागत करीब ११ अर्ब रुपैयाँ छ।
अब नयाँ बुटवल सबस्टेशनबाट बर्दघाटसम्मको प्रसारण लाइन निर्माणसम्पन्न भएपछि हेटौंडाबाट नयाँ बुटवलसम्म २२० केभी प्रसारण लाइन पूर्वाधार संरचना पनि तयार हुनेछ। नयाँ बुटवल-बर्दघाट २१ किलोमिटर प्रसारण लाइन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
अहिले हेटौंडाबाट भरतपुर हुँदै बर्दघाटसम्मको २२० केभी प्रसारण लाइन निर्माणसम्पन्न भई सञ्चालनमा आइसकेको छ।
यस्तै, भारतसँगको विद्युत् व्यापारका लागि नयाँ बुटवल-गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन पनि निर्माण गर्न लागिएको छ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् सोही प्रसारण लाइन मार्फत भारततर्फ निर्यात गरिनेछ। अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मार्फत प्राप्त हुने अनुदानबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेशन र बुटवल-गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपाल खण्डको निर्माण गरिनेछ।