बेग्लै प्रश्नको उत्तर दिंदा बोलेको कुरालाई काँटछाँट गरी गलत प्रचार गरियो: रघुजी पन्त
प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले)का नेता रघुजी पन्तले आफूले बेग्लै सन्दर्भमा बोलेको कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी प्रचार गरिएको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेता पन्तले इजरायलमा नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परी मारिएको समाचार आउनुअघि नै आफूले बोलेका कुरालाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर यूट्यूब, टिकटक आदि सामाजिक सञ्जाल मार्फत भ्रम फैलाइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।
उनले यस्ता आपत्तिजनक भिडिओ तत्काल हटाउन समेत माग गरेका छन्। ‘..त्यसरी गलत अर्थ लाग्ने भिडिओ बनाई प्रचार गर्ने कार्यबाट सम्बन्धित व्यक्तिहरूको भावनामा चोट पर्न गएको भए त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछु र कसैलाई पनि चोट पुर्याउने मेरो आशय नभएको कुरा व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।
उनले इजरायलको घटनामा परी मारिएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारका सदस्यहरूमा समवेदना समेत व्यक्त गरेका छन्।
उनले इजरायलमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न र मारिएका नेपालीको परिवारलाई इजरायली सरकारबाट पनि थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थाल्न पनि सरकारसँग माग गरेका छन्।