विषादी छर्किएको खानै नमिल्ने टमाटर बजारमा पुगेपछि...
कीरा मार्न प्रयोग गरिएको कडा विषादीको असर नसकिंदै टमाटर बजारमा पठाउनुपरेपछि झापाका कृषक डम्बर थारू अत्तालिए, आत्मग्लानिले छटपटाए।
झिसमिसेदेखि नै बारीको खटाइ। झमक्क साँझ नपरुन्जेल खेतमै व्यस्त। तरकारी लगायो, गोडमेल गर्यो, पाक्यो कि बजार पठायो।
आमकृषकको जस्तै झापाको अर्जुनधारा नगरपालिका-११ का डम्बर थारूको दैनिकी खेतबारीमै बित्थ्यो। तरकारीको फसल पनि राम्रो भयो। आम्दानी नहुने त कुरै थिएन। “तरकारी बेचेर राम्रो कमाइ भयो,” डम्बर भन्छन्।
डम्बर र उनका साथीभाइ मिलेर २०६७ सालमा तरकारी खेती शुरू गर्दा यति छिटै फाइदा होला भन्ने सोचेका थिएनन्। तरकारीमा फाइदा हुँदै गएपछि उनीहरूले खेतीपाती पनि बढाए। हरेक वर्ष बढ्दै गएको उनीहरूको कृषि उत्पादनले १० वर्षमा मनग्य फाइदा दिने भइसकेको थियो।
२०७७ सालमा पाक्नै लागेको टमाटरमा टुटा लाग्यो। टुटा मार्नका लागि कडा खालको विषादी प्रयोग गर्नुपर्यो। “कडा खालको विषादी प्रयोग भएको ३० दिनसम्म टमाटर खानका लागि योग्य हुँदैन,” डम्बर भन्छन्।
त्यति वेला विषादी हालेको टमाटर बजारमा नपठाउने विचारमा थिए, डम्बर। तर, सगोलमा गरिएको खेती थियो। साथीभाइले मानेनन्। “लगानी डुब्ने डरले टमाटर बजारसम्म बिक्रीका लागि पुग्यो,” डम्बर सम्झन्छन्, “उपभोक्तालाई विष खुवाउनुपरेकोमा मलाई आत्मग्लानि भयो।”
त्यसपछि डम्बरले सामूहिक तरकारी खेतीबाट हात झिके। अब तरकारी खेती नगर्ने निचोडमा पुगे। “तरकारी खेतीबाट पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकिनँ,” उनी भन्छन्।
तरकारी खेती छोडेपछि उनी नर्सरी व्यवसायतिर लागे। “विषादीले शरीरमा नकारात्मक ऊर्जा पैदा गर्दो रहेछ,” डम्बर भन्छन्, “नकारात्मक ऊर्जा बोक्न भन्दा नर्सरी व्यवसाय गर्दा पो राम्रो हुन्छ कि भन्ने लाग्यो। तरकारी छोडेर नर्सरी गर्न थालें।”
नर्सरीसँगै घर सजावटका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन थाले। मेक्सिकन दूबोको व्यवसाय शुरू गरे।
अहिले मेक्सिकन दूबो मात्रै डेढ बिघा जग्गामा लगाएका छन्। घरका लागि पाम जातिका बिरुवा उत्पादन र बिक्री गर्छन्। “तरकारी खेती गर्दा बजार नपाएर बिग्रिन्छ भन्ने चिन्ता हुन्थ्यो तर अहिले जति ढिलो बिक्री हुन्छ, रकम त्यति नै बढ्दै जान्छ,” डम्बर भन्छन्, “पामको मुख्य बजार काठमाडौं हो, झापाबाटै काठमाडौं पठाउँछु।”
गाउँमै जडीबुटीको खेती
डम्बरको खेतमा अहिले चार प्रकारका जडीबुटी छन्। पचौली, लेमन ग्रास, पाम रोसा र सिट्रोनेला। त्यसमध्ये सबैभन्दा धेरै पचौलीको खेती गरिएको छ। पचौलीको तेल कुनै पनि वस्तुका सुगन्धलाई लामो समयसम्म टिकाइ राख्न प्रयोग गरिने उनी बताउँछन्।
तीन वर्षदेखि डम्बरले तेलका रूपमा प्रयोग गरिने पचौलीको व्यावसायिक खेती गर्दै आएका छन्। “सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि रहेछ, म त्यही आत्मसन्तुष्टि जडीबुटीको खेतीबाट प्राप्त गरिरहेको छु,” उनी गम्भीर हुन्छन्।
डम्बरकै सिको गर्दै सात जना कृषकले पचौली खेती गरिरहेका छन्। किसानको पचौली डम्बरले नै किनेर दुवागढीमा रहेको प्रशोधन केन्द्रलाई बिक्री गर्छन्। प्रतिकिलोग्राम २० रुपैयाँमा पचौली बिक्री हुने गरेको छ। त्यस्तै, लेमन ग्रास, पाम रोसा र सिट्रोनेला प्रतिकिलो १० रुपैयाँमा किनबेच हुन्छ।
किसानसँग किलोको हिसाबले खरीद गरेर डम्बर भने त्यसबाट प्रशोधन हुने तेलको आधारमा रकम लिने गर्छन्। अहिले उनले नर्सरीमा पचौलीका एक लाख बिरुवा उमारेका छन्।
पुर्ख्यौली माछापालनले बढाएको आत्मबल
डम्बरको पुर्ख्यौली पेशा भने माछापालन हो। उनका आमाबुबा मात्रै होइन, बाजे पनि माछापालन गर्थे। “बाहुन-क्षेत्रीको घरमा करेसाबारी भए जस्तै थारूको घरको पोखरी हुन्छ,” उनी भन्छन्, “माछा पालेको देखेर हुर्केको हुँ। व्यावसायिक रूपमा नभए पनि माछा किन्नुपर्दैनथ्यो।”
उनका बुबा गणेशका दुई वटा माछा पोखरी थिए। तिनै पोखरीका माछा खाँदै हुर्केका डम्बर अहिले पूर्वी नेपालका एक दर्जन स्थानीय तहमा माछाका भुरा निर्यात गर्छन्। अढाई बिघा जमीनमा सात वटा पोखरी छन्। तिनै पोखरीमा कार्ब प्रजातिका कमन, ग्रास सिल्भर लगायत माछा र भुरा पालेका छन्।
२०६६ सालमा विश्वास कृषि फार्म दर्ता गरेर व्यावसायिक कृषि पेशा अपनाएका डम्बर त्यसयता गाउँमै व्यवसाय गरिरहेका छन्। उनका गाउँले साथी भने विदेश गइसकेका छन्। उनलाई भने विदेश जान मन छैन। “म आफ्नै देश र आफैं जन्मेको गाउँमा आत्मसन्तुष्टि देख्छु,” उनी भन्छन्।
अचेल उनको दिन त घर-खेतको काम व्यवस्थापनमै बित्छ। नर्सरी, जडीबुटी खेती, माछाका भुरा उत्पादन लगायतबाट फुर्सद हुँदैन। यसमा सघाउन सात जनालाई रोजगारी पनि दिएका छन्। सिजन अनुसार ज्यालामा काम पनि गराउँछन्।
अहिले उनी व्यवसायलाई विस्तार गरिरहेका छन्। त्यसैले नाफा-घाटातिर ध्यान दिएका छैनन्। “पैसा कति कमाउँछु भन्ने त थाहा छैन तर मैले गर्न सक्ने जति लगानी यो माटोमा गर्न कुनै कसर बाँकी राख्दिनँ,” डम्बर भन्छन्, “लगानीको बदलामा मैले आत्मसन्तुष्टि पाएको छु, आत्मसन्तुष्टिभन्दा ठूलो केही छैन।”