इजरायलमा मारिएका नेपालीको सम्झनामा राष्ट्रिय शोक घोषणा, मृतकका परिवारलाई १० लाख राहत
सरकारले इजरायलमा ज्यान गुमाएका नेपालीको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ भने मृतकका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको आकस्मिक बैठकले राहत प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बताइन्। “यस घटनामा परी निधन भएकाकाे परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,” मन्त्री शर्माले भनिन्।
मन्त्रिपरिषद्को बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीप्रति सम्मान प्रकट गर्न राष्ट्रिय शोक घोषणा गरेको छ। मन्त्री शर्माले भनिन्, “यस अकल्पनीय घटनामा निधन भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।”
यससँगै सरकारले ज्यान गुमाएका नेपालीको शव तत्काल नेपालले ल्याउने निर्णय गरेको छ। यसका लागि इजरायल सरकारसँग समन्वय गर्ने भएको छ।
इजरायलमा रहेका नेपालीले स्वदेश फर्किन चाहे उद्धार गरिने भएको छ। नेपालीलाई स्वदेश फर्काउन नेपाल एअरलाइन्स र हिमालयन एयरलाइन्सको जहाज चार्टर्ड गर्ने निर्णय गरिएको छ। नेपालीलाई स्वदेश फर्काउन इजरायल तथा अन्य मुलुकको आवश्यक सहयोग लिइने भएको छ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुज अलमिममा अध्ययनरत थिए। त्यस क्षेत्रमा हमासले आक्रमण गरेको हो।
हमासको आक्रमणमा परी १७ जनामध्ये १० जनाको मृत्यु भएको छ। एक जना सम्पर्कविहीन छन्। दुई जना सकुशल छन् भने केही घाइते भएका छन्।
त्यस्तै, केयरगिभरका रूपमा चार हजार ५०० नेपाली इजरायल गएका छन्। उनीहरूको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।