श्रम बजारको लैङ्गिक विभेद उजागर गर्ने अर्थशास्त्रीलाई नोबेल पुरस्कार
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार क्लाउडिया गोल्डिनलाई प्रदान गरिने भएको छ।
सन् १९४६ मा अमेरिकाको न्यूयोर्कमा जन्मेकी गोल्डिनले सन् १९७२ मा सिकागो विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन्। हाल उनी हार्वर्ड विश्वविद्यालयमा प्राध्यापक छिन्।
अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने उनी तेस्री महिला हुन्। यसअघि सन् २००९ मा एलिनर ओस्ट्रोन र सन् २०१९ मा इस्थर डुफ्लोले अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका थिए।
श्रम बजारमा लैङ्गिक असमानताका मुख्य कारकहरू उजागर गरेकोमा पुरस्कृत गरिएको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शताब्दीयौंदेखि श्रम बजारमा महिलाको सहभागिता र आम्दानीबारे गोल्डिनले पहिलो पटक विस्तृत विवरण प्रकाशन गरेकी थिइन्। उनको अनुसन्धानले लैङ्गिक असमानताका मुख्य स्रोतहरूका साथै त्यसमा भएका परिवर्तनको कारक उजागर गरेको थियो।
श्रम बजारमा महिला सहभागिता एकदमै न्यून छ र जति छन्, उनीहरूले पनि पुरुषभन्दा कम कमाउँछन् भन्ने तथ्य उजागर गर्न गोल्डिनले संयुक्त राज्य अमेरिकाको २०० वर्षको संग्रह खोतलेकी थिइन्। उनको अनुसन्धानले विभिन्न समयमा आम्दानी र रोजगारीको दरमा समयसँगै कसरी र किन परिवर्तन आइरहेछ भन्ने देखाएको थियो।
श्रम बजारमा महिला सहभागिता निरन्तर बढ्दै जानुपर्नेमा त्यस्तो नभएको तथ्य उनको अनुसन्धानले उजागर गरेको थियो। १९औं शताब्दीको शुरूआतमा कृषिबाट आधुनिक समाजतर्फ संक्रमणका क्रममा श्रम बजारमा विवाहित महिलाको सहभागिता घटेको र २०औं शताब्दीमा सेवा क्षेत्रको विकाससँगै महिला सहभागिता पनि बढेको उनको खोजले देखायो।
यस प्रक्रियालाई गोल्डिनले संरचनागत परिवर्तन र परिवार तथा घरप्रति महिलाको जिम्मेवारीबारे बदलिंदो सामाजिक मान्यताको परिणामका रूपमा व्याख्या गरेकी छन्।
२०औं शताब्दीमा महिलाको शैक्षिक स्तर निरन्तर बढ्यो। त्यससँगै उच्च आय भएका देशमा महिलाको आय पनि बढ्दो छ। यो विकासलाई गोल्डिनले गर्भनिरोधक चक्कीको आविष्कारसँग जोडेकी छन्। गर्भनिरोधक चक्कीले करिअर विकासका लागि अवसर प्रदान गरेर क्रान्तिकारी परिवर्तन ल्यायो भन्ने उनले सावित गरिदिएकी छन्।
२०औं शताब्दीमा आधुनिकीकरण, आर्थिक वृद्धि र रोजगार महिलाको संख्या बढिरहँदा पनि पुरुष र महिलाबीचको आयको खाडल कायम नै रह्यो। यसो हुनुको कारण चाहिं युवाकालमा गरिएका शैक्षिक निर्णयहरू रहेको गोल्डिनले व्याख्या गरेकी छन्।
त्यस्ता शैक्षिक निर्णयले जीवनभरको करिअरलाई प्रभाव पार्ने गरेको उनले वर्णन गरेकी छन्। जवान महिलाको अपेक्षा आफ्ना अभिभावकको अनुभवबाट निर्माण हुन पुग्यो भने विकास सुस्त हुने उनको तर्क छ।
ऐतिहासिक रूपमा आयमा हुने लैङ्गिक असमानता शैक्षिक स्थिति र पेशागत छनोटको फरकका कारण हुने व्याख्या गरिन्छ। तर गोल्डिनले एउटै पेशामा पनि महिला र पुरुषबीच आम्दानीमा ठूलो असमानता रहेको देखाएकी छन्।