कोशीमा राप्रपालाई फकाउँदै गठबन्धन
कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेसँगै नयाँ सरकार गठनको कसरत शुरू भएको छ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि असोज २६ गतेसम्मको समय दिएका छन्। यस उपधारामा प्रदेश सभाको कुनै पनि सदस्यले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न सक्नेछन्। दाबी पेश गर्ने सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने देखेमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले असोज २० मा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। उनी अल्पमतको सरकारका मुख्यमन्त्री बनेका थिए। कार्कीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।
कोशी प्रदेश सभालाई जोगाउने यो अन्तिम मौका हो। दलहरूले मिलेर सरकार गठन गर्न सकेनन् भने कोशीमा मध्यावधि निर्वाचन हुनेछ। तर कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ वटै दल तत्काल मध्यावधि निर्वाचनमा जाने पक्षमा छैनन्।
नयाँ सरकार गठनका लागि आह्वान भएसँगै सबै राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई मनाउनतिर लागेका छन्। नेकपा (माओवादी केन्द्र)का नेता बाबुराम गौतम भन्छन्, “अहिलेको हाम्रो प्राथमिकता भनेको राप्रपासँग सहकार्य हो, जसका लागि छलफल गरिरहेका छौं।”
राप्रपाका प्रवक्ता तथा कोशी प्रदेश सभा सदस्य भक्ति सिटौला भने सरकारमा जाने/नजाने निर्णय गर्ने अधिकार केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको बताउँछन्। “प्रदेश त देखिने दाँत मात्रै हो, सबै कुरा केन्द्रको निर्देशनमा चल्छ,” सिटौला भन्छन, “त्यही भएर सत्तारूढ दलका केन्द्रीय नेताहरूलाई हाम्रो अध्यक्षसँग वार्ता गर्न भनेका छौं।”
कांग्रेसमा मुख्यमन्त्री बन्न दौडधूप
कोशी प्रदेश सभामा कांग्रेसका २९ सांसद छन्। यसअघि दुई पटक उद्धव थापा मुख्यमन्त्री बनेका थिए। दुवै पटक विश्वासको मत पाउन सकेनन्। जसले गर्दा पार्टीभित्रै थापाको विरोध हुन थालेको छ।
कांग्रेसका केही सांसद केदार कार्कीलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउनुपर्ने प्रयासमा छन्। थापाको नेतृत्वमा सहमति बन्न नसक्ने भएकाले कार्की उपयुक्त हुने उनीहरूको भनाइ छ। थापा भने यस पटक पनि आफैं सरकारको नेतृत्व गर्ने कसरतमा छन्।
थापाले केही दिनअघि प्रदेश सभा बैठकमा बोल्दै मुख्यमन्त्रीमा आफूले ‘ह्याट्रिक’ गर्ने आशय व्यक्त गरेका थिए। तर थापाको नेतृत्वमा सहमति बन्न नसक्ने निष्कर्ष निकाल्दै कांग्रेस सांसदहरू कार्कीलाई अगाडि बढाउनुपर्ने पक्षमा देखिएका छन्।
माओवादीभित्र पनि हानथाप
दुई पटक कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दा पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले अब माओवादीले नेतृत्व पाउनुपर्ने मत बलियो हुँदै गएको छ। यसका लागि माओवादी नेताहरू कसरतमा जुटेका छन्।
कोशी प्रदेश सभामा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पनि स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी गरिरहेका छन्। आङ्बोमा सहमति नजुटे कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा छलफलमा छ, माओवादी। माओवादी प्रदेश सभा सदस्य गौतम भन्छन्, “संसदीय दलका नेतामा सहमति नजुटेमा म पनि मुख्यमन्त्रीको दाबी गर्छु।”
त्यस्तै, माओवादी सांसद जीवन आचार्यले पनि मुख्यमन्त्रीका लागि आकांक्षा देखाएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ आचार्य यसअघि मन्त्री पनि भएका थिए।
सिटौला र थापाको टकराव
राप्रपा नेता भक्ति सिटौला यसअघि कांग्रेसमा थिए। २०७० सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि सिटौलाले राप्रपा रोजेका थिए। त्यति वेला उनी झापा-२ बाट उम्मेदवार बनेका थिए। उनी कांग्रेसकै उम्मेदवार सुधीर सिवाकोटीसँग पराजित भएका थिए।
कांग्रेस राजनीतिमा सिटौला पुराना नेताका रूपमा चिनिन्थे। उनी उद्धव थापाभन्दा ‘सिनियर’ हुन्। जसले गर्दा थापाको नेतृत्वको सरकारलाई समर्थन गर्न सिटौलाले आनाकानी गरिरहेको कांग्रेस नेताहरूको भनाइ छ।
उनी भने कांग्रेसलाई समर्थन गर्ने वा नगर्ने भन्ने विचारको कुरा भएको तर्क गर्छन्। “सिनियर-जुनियर भन्दा पनि विचार र उद्देश्य मिल्न पर्छ,” सिटौला भन्छन्।
कांग्रेस नेता भने सिटौलालाई सभामुख बनाउने प्रयासमा जुटेका छन्। कोशी प्रदेश सभा पछिल्लो दुई महीनायता सभामुखविहीन छ। सर्वोच्च अदालतले विश्वासको मत प्राप्त गर्ने समयमा सभामुखले गरेको हस्ताक्षर असंवैधानिक ठहर गरेपछि बाबुराम गौतमले साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए।
त्यसपछि भदौ ४ गते विश्वासको मत लिंदा सभाको अध्यक्षता गरेका स्माइल मन्सुरीले दिएको मतलाई पनि सर्वोच्चले असंवैधानिक ठहर गरेको थियो। नेकपा (एमाले)बाट निर्वाचित उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै काठमाडौं गएकी थिइन्। त्यति वेला प्रदेश सभा सञ्चालन गर्ने व्यक्तिकै अभाव देखिएको थियो। त्यसैले सत्तारूढ दल भविष्यमा त्यस्तो समस्या दोहोरिन नदिन राप्रपालाई सभामुख दिने पक्षमा छ।
मध्यावधि निर्वाचनमा जान दिने वा नयाँ बन्ने सरकारलाई साथ दिने भन्ने निर्णय राप्रपाको हातमा छ। सत्तारूढ दलका नेताहरू भने मध्यावधिमा जानबाट रोक्न अन्तिम समयमा राप्रपाले साथ दिने विश्वासमा छन्।
कोशी प्रदेश सभा अहिले ९३ सदस्यीय छ। एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्। गठबन्धनसँग स्पष्ट बहुमत भए पनि एक महीनाभित्र विश्वासको मत लिंदा पुरानै समस्या दोहोरिन सक्छ। त्यसैले गठबन्धन राप्रपालाई मनाउन लागिपरेको छ।