बदलिएको मनसुन: ढिलो बहिर्गमन, अनपेक्षित वर्षा-चक्र
मनसुनको प्रवृत्तिमा देखिने गरी आएको परिवर्तनले अनपेक्षित घटनाक्रम निम्त्याउँदै भविष्यमा जलवायु जोखिम थप बढ्ने सङ्केत गरेको छ।
पछिल्ला वर्षमा मनसुनको प्रवृत्तिमा प्रस्ट देखिएको फेरबदल हो, पानी पर्ने दिन लम्बिने र ढिला सकिने। सामान्यतया नेपालमा १३ जुनमा मनसुनी वायु भित्रिएर २ अक्टोबरसम्म रहन्छ। यही बीचका ११२ दिनलाई मनसुन अवधि भन्ने गरिन्छ।
तर यसमा परिवर्तन आइरहेको छ। जस्तै- यस वर्ष पनि सरदरभन्दा ढिलासम्म मनसुनी प्रभाव कायम छ। गत वर्ष त मनसुन १३४ दिनसम्म रह्यो। विगतमा यति लामो अवधिसम्म मनसुन कायम रहेको ‘रेकर्ड’ छैन।
यस वर्ष पनि मनसुन सरदरभन्दा कम्तीमा एक साता लम्बिने प्रस्ट छ। जल तथा मौसम विज्ञान विभागले कर्णाली र सुदूरपश्चिम प्रदेशबाट असोज १९ मा मनसुन बाहिरिएको उल्लेख गरेको छ। विभागले केही दिनमा देशका बाँकी भूभागबाट पनि मनसुन बाहिरिने जनाएको छ।
विभागकी मौसमविद् गंगा नगरकोटी देशको पश्चिमी भागबाट बाहिरिएको औसतमा एक सातासम्म देशको सम्पूर्ण भूभागबाट मनसुन बाहिरिने प्रवृत्ति रहेको बताउँछिन्। जस अनुसार दशै शुरू हुनुअघि नै यो वर्षको मनसुनले पूर्ण रूपमा बिदा लिइसक्नेछ।
हिन्द महासागरबाट बंगालको खाडीको बाटो भएर दक्षिण-पूर्वी दिशाबाट प्रवेश गर्ने जलवाष्प बोकेको वायुले नेपालमा मनसुनी वर्षा गराउँछ। गर्मी याममा जमीनको सतह तात्दै जाँदा हलुका भएको वायु माथि माथि उड्न थाल्छ। जमीनको सतहको वायुको चाप पूरा गर्न दक्षिण-पश्चिम समुद्रमाथि रहेको आर्द्रता सहितको वायु भारतीय उपमहाद्वीपतिर सोहोरिन्छ। यसैका कारण जूनको दोस्रो सातादेखि अक्टोबरसम्मै नेपालमा पानी पर्छ। नेपालमा वर्षभरि पर्ने पानीको करीब ८० प्रतिशत त यही अवधिमा पर्छ।
बंगालको खाडीको वायुको आगमन रोकिंदै गर्दा पश्चिमी वायुको प्रभाव बढ्न थालेपछि नेपालमा मनसुन सकिन्छ। पूर्वी नेपालबाट भित्रिने मनसुनी वायु पश्चिमी नेपालबाट बाहिरिन थाल्छ।
अनियमित प्रवृत्ति
हट्यो सारा हिलो मैलो,
हरायो पानीको वर्षा।
भवानीको भयो पूजा,
चल्यो आनन्दको वर्षा।।
कविशिरोमणि लेखनाथ पौड्यालले करीब सात दशकअघिको सेरोफेरोमा लेखेको ‘दशैं’ कवितामा दशैंको वेलाको प्रकृति चित्रण गर्दै वर्षा याम सकिएर उल्लासमय मौसम शुरू हुने उल्लेख छ। अर्थात्, दशैंका वेला पानी पर्ने क्रम रोकिइसक्ने कविताले दर्शाउँछ। तर बितेका सात दशकमा जलवायुको प्रवृत्तिमा देखिने गरी परिवर्तन आइसकेको छ।
जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार सन् १९७० को दशकका सबै वर्ष मनसुन सेप्टेम्बर महीनामै रोकिएको थियो। सन् १९८६ पहिलो पटक मनसुन ५ अक्टोबरसम्म तन्किएको थियो। सन् १९८९ मा पनि मनसुन २ अक्टोबरसम्म पुग्यो। विभागको अभिलेखमा सन् १९८६ यताका दुई दशकमा यी दुई वर्ष मात्रै मनसुन अक्टोबरसम्म तन्किएको थियो।
त्यसयताको अढाई दशकमा भने धेरैजसो वर्ष मनसुन अक्टोबरसम्म लम्बिएको देखिन्छ। यसबीचमा ६ वर्ष मात्रै मनसुन सेप्टेम्बरमै बाहिरिएको छ। पछिल्लो दुई दशकमा सन् २००६ र सन् २०१२ मा मात्र मनसुन देशको वायुमण्डलबाट सेप्टेम्बरमै बाहिरिएको थियो। सन् २०१२ मा त २८ सेप्टेम्बरमै मनसुन बाहिरिएको थियो।
यी दुई वर्षलाई छोड्दा हरेक वर्ष मनसुनी वर्षा नेपालमा अक्टोबरसम्मै लम्बिंदै आएको छ। सन् २०१३ मा त सबैभन्दा ढिला अर्थात् १९ अक्टोबरसम्म (कात्तिक २ सम्मै) मनसुन लम्बिएको थियो। यस वर्ष सहित पछिल्ला लगातार पाँच वर्ष अक्टोबरको दोस्रो सातापछि मात्रै देशबाट मनसुन बाहिरिएको छ। यसले पछिल्ला दुई दशकमा मनसुनको प्रवृत्ति फेरिएको प्रस्ट्याउँछ।
जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेल मनसुनको अवधि लम्बिने र बाहिरिन ढिलो हुने प्रवृत्ति देखिएको बताउँछिन्। “किन यसो भइरहेको छ भन्न कठिन होला तर मनसुनको चरित्रमा फेरबदल आएको प्रस्टै देखिन्छ। अध्ययनहरूले जलवायु परिवर्तनको कारणले गर्दा मनसुन ढिला शुरू हुने र ढिला नै अन्त्य हुने गरेको सङ्केत गरेका छन्,” मौसमविद् पोखरेल भन्छिन्।
विभागले नेपालमा १० जूनमा मनसुनी प्रणाली भित्रिएर २३ सेप्टेम्बरमा बाहिरिने गरेको बताउँदै आएको थियो। तर पछिल्ला तीन दशकको मौसमी गतिविधि नियालेपछि विभागले २०७८ सालपछि १३ जूनमा मनसुन शुरू हुने र २ अक्टोबरमा बाहिरिने भनेर संशोधन गरिसकेको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. मदन सिग्देल मनसुनको प्रकृति समुद्री गतिविधिमा आधारित रहेको बताउँदै हिन्द महासागरमा पानीको तापमानमा आइरहेको परिवर्तनले मनसुनमा पनि बदलाव ल्याएको बताउँछन्। डा. सिग्देल विगतभन्दा वर्षाको अहिले रेकर्ड राख्ने क्रम व्यवस्थित र भरपर्दो हुन थालेकाले पनि अहिले यसबारे सोधखोज बाक्लिएको ठान्छन्। “मनसुनसँग सम्बन्धित ‘एस्ट्रिम इभेन्ट’ (चरम घटना)हरू बढ्न थालेको साँचो हो, यो मनसुनको प्रवृत्तिमा आएको बदलावको परिणाम हो,” उनी भन्छन्।
मनसुन ढिलोसम्म धकेलिंदै गएपछि पानी पर्ने मनसुनी दिनहरू पनि लम्बिएका छन्। नेपालमा सन् १९७९ मा सबैभन्दा कम ७३ दिन मात्रै मनसुनी वायु बसेको जल तथा मौसम विज्ञान विभागको अभिलेख छ। गत वर्ष भने अहिलेसम्मकै सर्वाधिक लामो मनसुन १३४ दिनसम्म कायम रह्यो। पछिल्लो एक दशकमा अपवाद बाहेक हरेक वर्ष औसतभन्दा मनसुनी दिन लम्बिएका छन्। अझ अभिलेख राख्न शुरू गरिएयताका सर्वाधिक लामा मनसुनी अवधिहरूमध्ये प्रमुख पाँच याम सन् २००७ यताका मात्रै छन्।
वरिष्ठ मौसमविद् तथा जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. मदनलाल श्रेष्ठ मनसुन ढिलासम्म तन्किने र अस्वाभाविक वर्षा हुने घटना बढेकाले मनसुनको प्रवृत्तिमा फेरबदल आएको प्रस्ट देखिएको बताउँछन्। डा. श्रेष्ठ जलवायु परिवर्तनलाई यसको कारण भन्न हिचकिचाउन नहुने तर्क गर्छन्। उनी भन्छन्, “समुद्री तापमानमा वृद्धिले वायुमण्डलको चरित्रमा स्वाभाविक प्रभाव पार्छ। त्यसको असरस्वरूप मनसुनमा फेरबदल आउने हो, अहिले त्यही भइरहेको छ।”
थोरै या धेरै वर्षा
यस वर्ष मनसुन भित्रिनासाथै पूर्वी नेपालमा अस्वाभाविक वर्षाले अनपेक्षित बाढी निम्त्यायो। असार १ को ठूलो वर्षासँगै आएको बाढीले ताप्लेजुङ, पाँचथर र संखुवासभामा जलविद्युत् आयोजना सहितका पूर्वाधार बगायो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)का अनुसार निर्माणाधीन १७ वटा र निर्माण सकिएका ११ वटा आयोजनामा करीब नौ अर्ब रुपैयाँ हाराहारीको क्षति भयो।
छोटो अवधिमा भीषण पानी पर्दा मनसुनमा अनपेक्षित घटनाक्रम थपिंदै गएका छन्। मौसमविद्हरू यही कारणले गर्दा मनसुन अनुमान गर्नै नसकिने बनिरहेको बताउँछन्। संखुवासभाको नुममा २४ घण्टामा ३८७.४ मिलिमिटर पानी परेको थियो, जुन सरदरभन्दा निकै धेर हो।
मनसुनी वायु नउक्लिने ठानिएको हिमाली क्षेत्रमा त हरेक वर्ष वर्षात्मा केही न केही अस्वाभाविक घटनाक्रम घटिरहेकै हुन्छ। यस वर्षको मनसुनमा हिमालपारिको जिल्ला मुस्ताङमा साउन २७ रातिको बाढीले कैयौं भौतिक संरचनामा क्षति पुर्यायो। कागबेनीमाथि खोला थुनिंदा आएको गेगर सहितको बाढी बस्ती पस्दा दुई दर्जनभन्दा बढी घरगोठ सहितका पूर्वाधारमा क्षति भयो।
हिमालपारिको जिल्लामा सरदरभन्दा धेरै पानी पर्दा बाढी आएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार मुस्ताङमा बाढी आउनुअघिको २४ घण्टामा २५ मिलिमिटर पानी परेको थियो, जुन औसतभन्दा बढी हो। अगस्टमा मुस्ताङमा सरदरमा करीब ४४ मिलिमिटर हाराहारीमा वर्षा हुन्छ।
महीना दिनमा पर्ने पानीको आधाभन्दा बढी वर्षा एकै दिनमा भएपछि जोखिम थपिएको थियो। जोमसोममा असोज १४ देखि मंसीर १० गतेको अवधिमा जति पानी पर्नुपर्ने हो, यस वर्ष असोजको तेस्रो साताभित्रै त्यसको तीन गुणा परिसकेको छ।
दुई वर्षअघि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र हिमालपारिको जिल्ला मनाङमा पनि यस्तै अस्वाभाविक विपत्ति निम्तिएको थियो। २०७८ असारमा मेलम्ची नदीमा आएको बाढीबाट २४ जनाको ज्यान गएको थियो भने अर्बौंको भौतिक पूर्वाधारमा क्षति पुगेको थियो।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनाङको हुम्देस्थित वर्षा मापन केन्द्रले २०७८ असार २ मा ८२.२ मिलिमिटर वर्षा रेकर्ड गरेको थियो, जुन अहिलेसम्मकै धेरै हो। हुम्देमा जून महीनामा सरदर ४२ मिलिमिटर पानी पर्ने भए पनि त्यसको झन्डै दोब्बर एकै दिन परेको थियो। यही वर्षको अगस्टमा जोमसोममा सरदरभन्दा ४९५ प्रतिशत (झन्डै पाँच गुणा) धेरै वर्षा भएको थियो।
पछिल्ला वर्षमा छोटो अवधिमा उच्च वर्षा हुने, अस्वाभाविक खालको वर्षा हुने, उच्च हिमाली क्षेत्रमा समेत मुसलधारे पानी पर्ने लगायत प्रवृत्ति बढिरहेका छन्। विगतमा तराई, चुरे र मध्यपहाडमा मनसुनले घनघोर वर्षा गराए पनि उच्च हिमाली क्षेत्रमा यसको कमै प्रभाव पर्ने गरेको थियो। यो क्षेत्रमा आरीघोप्टे वर्षा हुँदा आउने भलबाढीले गर्ने क्षति पनि बढ्दो छ।
नेपाल जस्तै भूबनोट भएको सिक्किममा असोज १७ मा टिस्टा नदीमा आएको बाढीले १०० भन्दा धेरैको ज्यान लियो, हजारौं विस्थापित भए, पूर्वाधारमा ठूलो क्षति पुर्यायो। सिक्किमको उत्तरी भेगमा मुसलधारे पानी परेपछि ल्होनाक हिमताल फुटेको थियो भने टिस्टा नदीमा जलसतह उच्च रूपमा बढ्न पुगेको थियो। यसले तल्लो तटीय क्षेत्रमा भलबाढीको भयावह अवस्था सिर्जना गर्यो।
यसले हिमाली र उच्च पहाडी क्षेत्रमा भइरहेको हलचललाई सङ्केत गर्ने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. सिग्देल बताउँछन्। उनी भन्छन्, “हिमालपारि मनसुन उक्लिंदैन भन्ने यसअघिको विश्लेषणलाई पुनरावलोकन गर्नुपर्ने भएको छ, अब उच्च हिमाली क्षेत्रमा मनसुनसँग सम्बन्धित अस्वाभाविक घटनाक्रम बढ्न थालेको देखियो।”
वरिष्ठ मौसमविद् एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डा. श्रेष्ठ विश्वव्यापी तापमान वृद्धिको सबैभन्दा उच्च असर हिमाली क्षेत्रमा परिरहेकाले नेपालले अब यस्ता जोखिमयुक्त घटना थप बेहोर्दै जाने जोखिम देख्छन्। उनी यसबारे सरकारले चासो र आवश्यक अध्ययनमा ध्यान नपुर्याएको औंल्याउँछन्।
जलवायुको चरित्रमा आएको फेरबदलले प्राकृतिक विपद् मात्रै निम्त्याएको छैन, किसानको खेतबारीसम्मै असर पुगेको छ। जस्तै- २०७८ असोज मसान्तमा लगातार कैयौं दिन झरी परेर देशभरिको धानबालीलाई ठूलो नोक्सान पुर्यायो। काटेर खेतमा सुकाइएको धान पानीमा मात्रै डुबेन, नकाटिएको धान पनि हावाहुरीले ढालिदियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले करीब ८५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बेमौसमी वर्षाले करीब आठ अर्ब २७ करोड रुपैयाँको नोक्सान गरेको अनुमान गरेको थियो।
यही वर्षको मनसुनमा पनि कैयौं अनियमित प्रवृत्ति देखा परे। गत अगस्ट (साउन १६ देखि भदौ १४ सम्म)मा गण्डकी र सुदूरपश्चिमका केही क्षेत्रमा ११०० मिलिमिटरसम्म वर्षा भयो। ८ अगस्टमा कर्णालीको चिसापानीमा २४ घण्टामा ४२४.२ मिलिमिटर पानी परेको रेकर्ड भएको थियो। यो अत्यधिक वर्षा हो।
चिसापानी, स्याङ्जा, तनहुँ, सिन्धुलीमाढी, लहान, बर्दिया, सर्लाहीका १० स्थानमा अगस्टमा अत्यधिक वर्षा (२४ घण्टामा १५० मिलिमिटरभन्दा धेरै) भएको थियो। गत जुलाई (असार १६ देखि साउन १५ सम्म)मा पनि कतै खडेरी त कतै अतिवृष्टि भएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। मधेश प्रदेशको अधिकांश भूभाग, बागमती, लुम्बिनी, कर्णाली प्रदेशमा जुलाई महीनामा औसतभन्दा कम पानी पर्यो। त्यसैगरी, कोशीको पूर्वी र मध्य भाग, गण्डकी र सुदूरपश्चिमको केही क्षेत्रमा पनि सरदरभन्दा थोरै मात्रै पानी परेको विभागले जनाएको छ।
देशभरिका २० मुख्य मौसम स्टेशनले रेकर्ड गरेको वर्षाको तथ्याङ्क अनुसार जुलाईमा औसतको तुलनामा ८४.२ प्रतिशत मात्रै पानी पर्यो। जुलाईमा सरदरमा ४८३.५ मिलिमिटर पानी पर्ने भए पनि यस वर्ष ४०७ मिलिमिटर मात्रै पानी परेको छ। खासगरी, जुलाईको चौथो साता पानी निकै थोरै परेको हो। यसले धान रोपाइँको मुख्य सिजनमा पानी नपरेको देखाउँछ।
मनसुनी वर्षाको करीब एकतिहाइ पानी जुलाईमा पर्छ। नेपालमा मनसुनी अवधिमा औसतमा एक हजार ४७२ मिलिमिटर पानी पर्ने गरेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ। जुलाईमा मधेशको अधिकांश भूभाग, कोशीको पूर्वी भाग, कर्णालीको दक्षिणी भाग तथा बागमती र लुम्बिनीका केही क्षेत्रमा मध्यमदेखि अत्यधिक खडेरीको अवस्था देखिएको थियो। मन्थली, जलेश्वर र जनकपुर स्टेशनको वर्षामापन आँकडाले ती क्षेत्रमा सरदरका तुलनामा जुलाईमा ७० प्रतिशतले कम पानी परेको देखाएको थियो। यसले ती क्षेत्रमा चरम खडेरीको अवस्था बुझाउँछ।
नेपालगन्ज, वीरगन्ज, लहान, धनकुटा तथा गौर क्षेत्रमा पनि औसतका तुलनामा आधा मात्रै पानी पर्दा गम्भीर खालको खडेरी परेको थियो। गौरमा जुलाई महीनाभरि सात दिन मात्रै पानी पर्यो। जलेश्वरमा आठ दिन र जनकपुरमा १० दिन मात्रै पानी पर्यो।
तर जुलाईमा उच्च हिमाली क्षेत्रमा भने औसतभन्दा बढी पानी पर्यो। औसतका तुलनामा जोमसोममा १५५ प्रतिशत र लेते (मुस्ताङ)मा १३७.८ प्रतिशत बढी पानी परेको थियो।
मध्य वर्षा याममा तराई र मध्यपहाडमा मनसुनी वर्षा कमजोर हुँदा यस वर्ष प्रमुख कृषि बाली धानको रोपाइँ धेरै नै ढिलो भयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष एक लाख हेक्टरभन्दा बढी खेतमा धान रोपाइँ नै हुन सकेन। धान रोपेको खेतमा समेत निकै ढिलो रोपाइँ सकियो। देशको कुल धान उत्पादनको एकचौथाइ हिस्सा ओगट्ने मधेश प्रदेशका एकतिहाइ खेतमा साउन तेस्रो सातासम्म रोपाइँ भएको थिएन। रोपाइँ ढिलो हुँदा उत्पादन हुने दर पनि घट्छ।
धान रोप्ने वेला नपरेको पानी असोजमा भने अनपेक्षित तरीकाले पर्यो। मनसुन बाहिरिने समय भइसकेको वेला असोज १७ र १८ मा काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा लगातार वर्षा भयो। कैयौं क्षेत्रमा त अत्यधिक वर्षा नै भयो। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ मा रेकर्ड गरिएको २४ घण्टाको मापनमा १३ स्थानका वर्षामापन केन्द्रमा १०० मिलिमिटरभन्दा धेरै पानी परेको थियो। पाल्पाको अर्चलेमा २४ घण्टामा १७०.४ मिलिमिटर पानी परेको रेकर्ड भएको थियो।
कुवेलाको यस्तो पानीले धानबालीलाई असर गर्यो। खासगरी, फुल्ने वेला भएको धानलाई घाम चाहिन्छ। तर, लगातारको झरीले फूल झारिदियो। पाक्नै लागेका धानलाई पनि यसले राम्रो गरेन। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय आनुवांशिक स्रोत केन्द्र (जीन ब्यांंक)का प्रमुख धानविज्ञ बालकृष्ण जोशी असमयको झरीले धानलाई फाइदा नगरेको बताउँछन्। यसै पनि य; वर्ष धानको रोपाइँ ढिलो र कम भएको त छँदै थियो, कुवेला परेको पानीले धानको उत्पादन कम हुने हो कि भन्ने जोखिम थपेको छ।