इजरायलमा मारिएका विद्यार्थीको परिवारलाई दुई लाख सहयोगको घोषणा
सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा ज्यान गुमाएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन्। मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै राहतको घोषणा गरेका हुन्।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार तथा मृतक विद्यार्थीको शव स्वदेश ल्याइदिन दुवै देशका सरकारसँग अनुरोध गरेका छन्।
इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किबुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएका छन्। उनीहरू सुदूरपश्चिम विश्वविद्यालको कृषि सङ्कायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।