इजरायलमा ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र ल्याउने निर्णय
इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका तथा उद्धार गर्नुपर्ने नेपालीलाई यथाशीघ्र स्वदेश ल्याउन जहाजलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ।
हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने दुई जना घाइते छन्। घाइतेको उपचार भइरहेको छ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले जहाजलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो। बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने समेत निर्णय गरेको मन्त्री साउदले बताए।
सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो। संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्याङ्कन गरेर नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्ने लगायत काम गर्नेछ। आजको बैठकले इजरायलमा ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र ल्याउने निर्णय गरेको जनाइएको छ।
इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुज अलमिममा अध्ययनरत थिए। त्यस क्षेत्रमा हमासले आक्रमण गरेको हो।
हमासको आक्रमणमा परी १७ जनामध्ये १० जनाको मृत्यु भएको छ। एक जना सम्पर्कविहीन छन्। दुई जना सकुशल छन् भने केही घाइते भएका छन्।
त्यस्तै, केयरगिभरका रूपमा चार हजार ५०० नेपाली इजरायल गएका छन्। उनीहरूको अवस्था सामान्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।