दशैंका लागि टिकट बूकिङ खुला
चाडपर्वमा काठमाडौं बाहिर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजबाट टिकट बूकिङ खुला गरेको छ।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले टिकट बूकिङ खुला गरेसँगै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि भीड लागेको छ। देशका विभिन्न क्षेत्रबाट अध्ययन, व्यवसाय तथा रोजगारीका लागि काठमाडौं आएर चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर टिकट बूकिङ खुला गरिएको हो।
काठमाडौंबाट देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रूपमा सहज तरीकाले टिकट पाएका छन्। पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारीको टिकट पूर्व यातायात व्यवस्थापन प्रालि मार्फत लिने व्यवस्था मिलाइएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौला यसपालिको दशैंमा घर जान यात्रुले सहजै टिकट पाउने दाबी गर्छन्। “राजमार्ग बिग्रिएका कारण काठमाडौं आउनजान सार्वजनिक सवारीसाधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन,” उनी भन्छन्।
सरकारले दशैंका लागि देशका सबै क्षेत्रको यातायातका लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ।
यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका र यातायात व्यवस्था विभागको सहकार्यमा दशैंमा घर जाने यात्रुको सहयोगका लागि काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष राख्न लागेको छ।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि टिकट बूकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ।