इजरायलबाट फर्किन चाहने नेपालीहरूको विवरण सङ्कलन गरिंदै
नेपाल सरकारले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन चाहेका नेपाली नागरिकको विवरण सङ्कलनको तयारी गर्दै छ।
विवरण सङ्कलनका लागि परराष्ट्र मन्त्रालय, इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
मन्त्रालयको विज्ञप्ति अनुसार हाल तेल अभिभस्थित विमानस्थल सामान्य रूपमा सञ्चालनमा भने हवाइमार्ग मार्फत आवतजावत हुन थालिसकेको छ।
यसबीच, परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्र पनि गठन भएको छ। उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको विज्ञप्ति मार्फत बताइएको छ। मन्त्रालयले नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिंदै निकायगत समन्वय समेत गरिरहेको बताइएको छ।
यस्तै, मन्त्रालयले इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि अनुरोध गरेको छ।
पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सिमाना लगायत क्षेत्रमा भएको आक्रमणमा परी हालसम्म १० जना नेपाली नागरिकले ज्यान गुमाएका छन् भने एक जना सम्पर्कविहीन छन्। केही नेपाली भने घाइते अवस्थामा रहेका पुष्टि भएको छ।
मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको र शव पहिचान गरी सक्दो छिटो नेपाल ल्याउन एवं घाइतेहरूको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको मन्त्रालयले बताएको छ।