इजरायलमा घाइते अवस्थामा रहेका डाँगीले नर्सको मोबाइलबाट गरे परिवारसँग कुरा
दाङको दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगी परिवारको सम्पर्कमा आएका छन्।
प्यालेस्टाइनी हमास समूहले इजरायलमा आक्रमण गरेसँगै प्रवीण सम्पर्कविहीन थिए। आइतबार दिउँसो भने इजरायलस्थित अस्पतालको शय्याबाट नर्सको मोबाइल मार्फत उनले परिवारलाई सम्पर्क गरेको बुबा निमबहादुर डाँगीले हिमालखबरलाई बताए।
गएराति ८ बजेतिर पुनः छोरासँग कुरा भएको निमबहादुरले बताए। बुबा निमबहादुरका अनुसार प्रवीणलाई गोली लागेको छ। प्रवीणले फोन कुराकानीमा आफ्नो शल्यक्रियाको तयारी भएको बताएका थिए।
“छोराको दुवै खुट्टामा गोली लागेर अस्पतालमा उपचार गराइरहेको छ,” बुबा निमबहादुरले भने, “गोली लागेर घाइते अवस्थामा रहेकाले धेरै कुरा हुन पाएन।”
प्रवीण, निमबहादुरका कान्छा छोरा हुन्। सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषि विज्ञ (सेलेक्टिभ) टोली मार्फत ११ महीनाका लागि उनी इजरायल गएका थिए।
“भिडिओबाट छोराको अवस्था हेरें, अहिले एक जना नेपालीले आफ्नो मोबाइलबाट फोन गरेर छोराको अवस्था बताएका छन्,” उनले भने, “बीएससीएजी पढेर गत भदौ २३ गते छोरा इजरायल गयो। छोरा गएको एक महीना पुगेको छैन यस्तो घटना भयो।”