शम्भु आचार्यलाई जिताउन कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया कार्यालयको क्षेत्रीय निर्देशकमा नेपालका उम्मेदवार डा. शम्भु आचार्यलाई जिताउन कूटनीतिक पहल थाल्न सरोकारवालाले सरकारलाई आग्रह गरेका छन्।
आउँदो कात्तिक १३ गते (३० अक्टोबर) क्षेत्रीय निर्देशकको चुनावका लागि नेपालका शम्भु आचार्य र बाङ्लादेशकी सायमा वाजिद उम्मेदवार छन्। बाङ्लादेशले आफ्नो उम्मेदवार जिताउन कूटनीतिक पहल गरे पनि नेपालका तर्फबाट उच्चस्तरीय पहल नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन्।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा. रिता थापाले आचार्य जस्तो सक्षम नेतृत्व भएमा मात्र दक्षिणपूर्वी एशिया क्षेत्रको स्वास्थ्यको अवस्था राम्रो हुने बताइन्। डा. थापाले प्रतिस्पर्धी वाजिदभन्दा आचार्य उपयुक्त रहेको बताइन्। दक्षिणपूर्वी एशियाको स्वास्थ्य लिगेसी बचाउन पनि आचार्य उपयुक्त उम्मेदवार रहेको उनको भनाइ थियो।
आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्षको अनुभव छ। उनी अहिले डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन्।
बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी भएकाले वाजिदलाई उम्मेदवार बनाइएको भन्दै आलोचना भइरहेको छ। यद्यपि बाङ्लादेशले उनलाई जिताउन उच्चस्तरीय कूटनीतिक पहल गरिरहेको छ।
जनस्वास्थ्यविद् बद्रीराज पाण्डेले अहिलेको चुनाव ‘टेक्टिकल’ दक्षता र राजनीतिक ‘प्रेसर’ को प्रतिस्पर्धा रहेको बताए। दक्ष मानिसलाई जिताएमा दक्षिणपूर्वी एशियाको स्वास्थ्य प्रणालीमा राम्रो काम हुने पाण्डेको भनाइ थियो। “३० वर्ष डब्लूएचओमै बसेर काम गरेको जनस्वास्थ्यविद्ले जित्ने हो भने दक्षिणएशियाको स्वास्थ्य नीतिमा गजबको काम हुन सक्छ,” पाण्डेले भने।
परिवार नियोजन संघका निर्देशक डा. नरेशप्रताप केसीले डब्लूएचओको क्षेत्रीय निर्देशकमा आफ्नो उम्मेदवारलाई जिताउने नेपालका लागि ठूलो अवसर भएको बताए। “सही मानिस सही पदमा पुग्यो भने मात्रै राम्रो हुने आशा गर्न सकिन्छ,” शाहले भने।
पत्रकार कनकमणि दीक्षितले एउटा देशको राष्ट्रप्रमुखको नातावाद र कृपावादले नेपालको सक्षम उम्मेदवारलाई चुनौती हुन लागेको उल्लेख गरे। सरकारले डा. आचार्यलाई जिताउन गर्नुपर्ने जति लबिइङ नगरेको दीक्षितको भनाइ थियो। “भूराजनीतिक कारणले गर्दा सरकारले आचार्यलाई जिताउनको लागि लगाउनुपर्ने ‘इफोर्ट’ नलगाएको हो कि,खुट्टा कमाएको हो कि!” उनले भने।
क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा नेपाल सहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे आचार्यको कार्यक्षेत्र हुनेछ।
त्यससँगै नीलाम्बर आचार्य, डा. कुलचन्द्र गौतम, डा. रिता थापा, डा. भगवान् कोइराला, डा. नरेश केसी, डा. मधु दीक्षित, डा. सुधा शर्मा, डा. बद्रीराज पाण्डे, डा. विश्व पराजुली लगायतले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेर आचार्यलाई जिताउन कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेका छन्।
यो पनि पढ्नुहोस्: ‘म जहाँ छु, त्यहाँ पुग्न धेरै नेपाली सक्षम छन्’