‘शिक्षा विधेयकमा सरोकारवालासँगको छलफल अपुग भएछ’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षा विधेयकलाई संसद् दर्ता गर्नुअघि सरोकारवालासँगको छलफल अपर्याप्त भएको स्विकारेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री राईले २०७५ सालमा विधेयकको मस्यौदा बनेदेखि नै शिक्षक लगायत सरोकारवालासँग छलफल गरेको भए पनि त्यो अपुग रहेको बताए।
“संसद्मा दर्ता गर्नुभन्दा अगाडि सरकारले बहुत गम्भीरतापूर्वक शिक्षक महासंघ, निजी क्षेत्रका शिक्षक र सञ्चालकहरूसँग छलफल गरेर परिमार्जन गरेर नै दर्ता गरिएको हो। ब्रिफिङ पनि गरिएको हो,” मन्त्री राईले भने, “जेसुकै गरेको भए पनि परिणामले के देखायो भने सरोकारवालासँग जुन हदसम्म छलफल गर्नुपर्ने र प्रस्टता ल्याउनुपर्ने थियो, त्यो अपुग भएको रहेछ।”
मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेदेखि नै विभिन्न सरोकारवालाले विरोध गरेका थिए। विधेयकको विरोधमा शिक्षकहरू सडकमा आएपछि सरकारले उनीहरूसँग दुई पटक सम्झौता गरेको थियो।
भदौ २७ गते संसद्मा दर्ता भएको विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव असोज २१ गतेको बैठकबाट स्वीकृत भएको छ। विधेयकमा संशोधन हाल्न चाहने सांसदहरूले ७२ घण्टाको समय पाएका छन्।