झलनाथ खनाल प्रतिष्ठानले सर्पपालनमा २१ करोड भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष, विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नाममा खुलेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले विषालु सर्पपालनका नाममा भ्रष्टचार गरेको ठहर गरेको छ।
सर्पपालनको नाममा २१ करोड २५ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै असोज २१ गते विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन्। अख्तियारले मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्का लगायतलाई प्रतिवादी बनाएको छ।
त्यस्तै, प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई पनि विपक्षी बनाइएको छ।
आर्थिक वर्ष २०७६/७७ मा सर्पपालन एवं एन्टिस्नेक भेनम उत्पादन परियोजनाका लागि संघीय सरकार, तत्कालीन प्रदेश २ सरकार र लालबन्दी नगरपालिकासँग झलनाथ खनाल प्रतिष्ठानले ७२ करोड रुपैयाँको परियोजनामा हस्ताक्षर गरेको थियो। तर प्रतिष्ठानले आफूले लगानी नगरेको र सरकारी रकम मात्रै खर्च गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ।
मधेश प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा बजेट मार्फत सर्पपालनका लागि १७ करोड ९८ लाख ३३ हजार रकम विनियोजन गरेको थियो। त्यो रकम सर्लाहीको लालबन्दी नगरपालिका मार्फत झलनाथ खनाल प्रतिष्ठानलाई प्रदान गरिएको थियो।
त्यति वेला लागत साझेदारीमा सर्पपालन गर्ने त्रिपक्षीय समझदारी भएको थियो। त्यो रकम खर्च भइसक्दा पनि योजनाको उद्देश्य प्राप्तितर्फ प्रगति शून्य रहेको र स्वीकृत नभएका योजनामा पनि खर्च गरिएको अख्तियारले जनाएको छ।
त्यस्तै, मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणका लागि राष्ट्रिय योजना आयोगमा अनुदान प्रस्ताव पेश गरेका थिए। श्रेष्ठले पेश गरेको झूटो प्रस्तावका आधारमा नेपाल सरकारबाट समपूरक अनुदान तीन करोड २७ लाख रुपैयाँ प्रतिष्ठानलाई प्रदान गरिएको थियो। त्यो रकम पनि कानून विपरीत खर्च भएको अख्तियारको ठहर छ।
अख्तियारले दुवै गरेर २१ करोड २५ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै बिगो दाबी गरी मुद्दा दर्ता गरेको हो।