इजरायलमा रहेका १२ नेपाली विद्यार्थी सम्पर्कविहीन
हमासले आक्रमण गरेको इजरायलको दक्षिण क्षेत्रमा रहेका १२ जना नेपाली विद्यार्थी सम्पर्कविहीन छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिंदै परराष्ट्र मन्त्री एनपी साउदले नेपाली विद्यार्थी सम्पर्कविहीन रहेको बताएका छन्। “आक्रमण भएको क्षेत्रमा रहेका १२ विद्यार्थीमध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुन सक्ने भएको हुँदा स्थिति यकीन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ,” मन्त्री साउदले भने।
नेपालबाट इजरायलमा केयरगिभरका रूपमा चार हजार ५०० नेपाली गएका छन्। उनीहरूको सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै, इजरायले सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका छन्। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुज अलमिममा अध्ययनरत थिए। त्यस क्षेत्रमा हमासले आक्रमण गरेको हो।
हमासको आक्रमणमा परी १७ जनामध्ये तीन जना विद्यार्थी घाइते भएको परराष्ट्र मन्त्री साउदले बताए। त्यस्तै, दुई जना विद्यार्थी सकुशल छन्।
अन्य १२ जना विद्यार्थी सम्पर्कविहीन छन्। उनीहरूमध्ये केही हताहत भएको हुन सक्ने परराष्ट्र मन्त्री साउदको भनाइ छ। उनीहरूको अवस्था बुझ्न इजरायलस्थित नेपाली दूतावासले समन्वय गरिरहेको जनाइएको छ।
यस्तै, इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग र समन्वय गर्न सरकारले समन्वय समिति गठन गरेको छ। परराष्ट्र मन्त्रीको नेतृत्वमा गठन गरिएको समन्वय समितिले इजरायल सरकार, त्यहाँस्थित नेपाली राजदूतावास र इजरायलमा रहेका नेपालीसँग समन्वय गरिरहेको मन्त्री साउदले बताए। आवश्यक परेमा इजरायलमा रहेका नेपालीको उद्धार गरिने उनको भनाइ छ।
प्यालेस्टाइनको लडाकू समूह हमासले असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेको थियो। हमासको आक्रमणमा परी २५० जना इजरायलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इजरायलले पनि हमासमाथि प्रत्याक्रमण गरेको छ। इजरायलको आक्रमणबाट २३२ जना प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ। त्यस क्षेत्रमा दोहोरो भिडिन्त जारी छ।