आशा जगाउन मनोसामाजिक सहयोग
आत्महत्याका पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक लगायत विविध कारण हुन सक्छन्। त्यसैले आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर अगाडि बढ्नुपर्ने हुन्छ।
गत साउन ४ गते प्रादेशिक अस्पताल जनकपुरको आपत्कालीन सेवा विभागबाट फोन आयो। आत्महत्या प्रयास गरेकी एक महिलालाई अस्पताल ल्याइएको रहेछ।
मनोसामाजिक सहयोगका लागि फोन आएपछि जनकपुरको तातो हावामा वेग हान्दै पंक्तिकार अस्पताल पुग्यो। त्यतिन्जेल आत्महत्या प्रयास गर्ने ३० वर्षीया महिला आईसीयूमा भर्ना भइसकेकी थिइन्। उनी अचेत अवस्थामा भएकाले संवाद गर्न पाइएन।
अस्पतालको आईसीयू कक्ष बाहिर ती महिलाका श्रीमान्, नन्द र बुबा थिए। उनीहरूसँग छुट्टाछुट्टै करीब एक घण्टा कुराकानी भयो। यसबाट थाहा भयो, महिलाको परिवारमा केही महीनादेखि कलह र बेमेल बढिरहेको रहेछ।
महिलाका बुबाले छोरी र ज्वाइँबीच दिनहुँजसो झगडा हुने गरेको सुनाए। आत्महत्या प्रयास भएकै दिन पनि ज्वाइँले छोरीमाथि हातपात गरेको उनले बताए। असह्य भएपछि ती महिलाले आत्महत्याको बाटो रोजेकी रहिछन्।
पाँच दिनको सघन उपचारपछि महिला घर फर्किइन्। पंक्तिकार पनि मनोसामाजिक सहयोगका लागि उनको घर पुग्यो। परिवारका सदस्यसँग उनलाई भेट्ने अनुमति मागेर भित्र गएँ। एउटा अँध्यारो कोठामा सुतिरहेकी थिइन् उनी। शारीरिक र मानसिक रूपमा गलित उनको अनुहारको कान्ति पनि क्षय थियो। बोल्न खोज्थिन् तर शरीर काँपिरहेको थियो। सकीनसकी भित्तामा अडेस लागेर कुराकानी गर्न तयार भइन् उनी।
कुराकानीको शुरूमै उनले बलिन्द्र आँसु झारिन्। विगत खोतल्दै १७ वर्षको कलिलै उमेरमै विवाह गरेको सुनाइन्। श्रीमान् रोजगारीका लागि विदेशमा भएकाले दुई छोराको जिम्मेवारी आफैंले वहन गर्दै घर सम्हाल्दै आएकी रहिछन्।
तर, चार महीनाअघिदेखि सासूससुरासँग उनको सम्बन्ध बिग्रिएको रहेछ। सासूससुराले पटक पटक दाइजो कम भएको सुनाउने, बाहिर खुलेर हिंड्न, बोल्न बन्देज गरिदिने र माइतीको विषयमा पनि नराम्रा टिप्पणी गर्ने क्रम अति भएपछि उनी छुट्टै बस्न थालिछन्।
यति हुँदा पनि उनको जीवनमा आशाको किरण अस्ताइसकेको थिएन। उनी विश्वस्त थिइन्- श्रीमान् नेपाल फर्किएपछि परिवारसँग पुनर्मिलन हुन्छ भनेर। तर श्रीमान्ले त उल्टो उनीमाथि नै गल्ती थोपरे। नेपाल फर्केपछि दाम्पत्य सम्बन्धमै दरार आउन थाल्यो। जसकारण ती महिलाको दिनचर्या नै बिथोलिन थाल्यो।
भावनात्मक रूपमा टुटिसकेकी उनले आफ्ना पाँच र नौ वर्षका बालबच्चाको रेखदेख समेत गर्न छोडिसकेकी थिइन्।
यतिन्जेल उनले समाजबाट पनि एक्लिएको महसूस गर्न थालिसकेकी थिइन्। समाजले पनि खास कारण खोतल्न जरुरी नठानेकाले उनी सहाराविहीन महसूस गर्न थालिसकेकी थिइन्।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन्। आर्थिक वर्ष २०७९/८० मा ६ हजार ९९३ जनाले आत्महत्या गरेका थिए। त्यसभन्दा अगाडिको आर्थिक वर्षभन्दा यो २.४ प्रतिशतले बढी हो।
गाउँ छोडेर आफ्ना श्रीमान् र दुई छोरासँग शहरमा बस्ने, छोराहरूलाई राम्रो विद्यालयमा पढाउने, पैसा कमाउने र एउटा घर बनाउने उनको सपना यतिन्जेल टुटिसकेको थियो। यसपछि उनी आत्महत्या गर्ने निर्णयमा पुगेकी रहिछन्।
करीब सात हप्ताको मनोसामाजिक सहयोग सत्रमा उनले आफूलाई अभिव्यक्त गर्दै गइन्। मनोसामाजिक सहयोग सत्र ती महिलाको तनाव व्यवस्थापन सीपको विकास र परिवारिक सहयोगको दायरा बढाउन केन्द्रित थियो। व्यक्तिगत सात र पारिवारिक तीन वटा परामर्श सत्रपछि परिवारको उनीप्रतिको दृष्टिकोण सकारात्मक हुँदै गयो।
बिस्तारै उनलाई साथसहयोग पुग्न थाल्यो। उनी आफ्नो दैनिकीमा फर्किन थालिन्। अहिले ती महिलालाई पुनः जीवनप्रति आशा पलाएको छ। तथापि उनको आत्महत्या जोखिम पूरै टरेको भने छैन।
सेज जर्नलमा प्रकाशित सी इरीकको एक अध्ययन अनुसार एक पटक आत्महत्याको प्रयास गरेको व्यक्तिले पुनः प्रयास गर्न सक्ने जोखिम हुन्छ र पहिलो वर्षमा तुलनात्मक रूपमा झन् धेरै हुन्छ।
पुनः जीवनप्रति आशा पलाएको व्यक्तिलाई आत्महत्या गर्न प्रयोग गर्ने घातक माध्यमहरूबाट टाढा राख्नुपर्छ। उनीहरूलाई निरन्तर मानसिक स्वास्थ्य परामर्श पनि आवश्यक पर्छ। यदि व्यक्तिले आफ्नो जीवनमा आइपर्ने तनाव सामना गर्ने सकारात्मक सीपहरू विकास गर्न सक्यो, आफ्नो हेरचाहमा ध्यान दिन सक्यो, स्वस्थ जीवनशैली अपनायो र पारिवार तथा समाजसँगको सहयोगी सम्बन्धहरू कायम रह्यो भने पुनः आत्महत्या प्रयासको जोखिम कम भएर जान्छ।
बालबालिकामा पनि बढ्दो छ आत्महत्या
नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक २० जनाले आत्महत्या गर्छन्। आर्थिक वर्ष २०७९/८० मा ६ हजार ९९३ जनाले आत्महत्या गरेका थिए। त्यसभन्दा अगाडिको आर्थिक वर्षभन्दा यो २.४ प्रतिशतले बढी हो।
मानसिक स्वास्थ्य समस्याका विषयमा सामाजिक सचेतनाका अभियान र प्रयासहरू पहिलेभन्दा निकै बढेका छन् नेपालमा। तर मानसिक समस्यासँग जोडिएर आउने गलत धारणाका कारण अझै पनि मानिसहरू खुलेर कुरा गर्न सकिराखेका हुँदैनन्। नेपालमा आत्महत्याको ग्राफ उकालो लाग्नुको कारण यकीन गर्नु एक अध्ययनकै विषय हुन सक्छ।
पछिल्लो समय त नेपालमा बालबालिकामा पनि आत्महत्या बढ्दो देखिएको छ। प्रहरीको तथ्याङ्क अनुसार आव २०७४/७५ देखि २०७८/७९ सम्ममा दुई हजार ८५० बालबालिकाले आत्महत्या गरेका छन्। गत आर्थिक वर्षमा मात्रै १८ वर्षमुनिका ७९५ बालबालिकाले आत्महत्याका कारणले ज्यान गुमाए।
मधेश प्रदेशमा मात्रै यस अवधिमा २३४ बालबालिकाले आत्महत्या गरेको पाइएको छ। तुलनात्मक रूपमा यो संख्या अन्य प्रदेशको भन्दा बढी हो। कोशी प्रदेशमा १६२, बागमतीमा ९१, गण्डकीमा ६५, लुम्बिनीमा १३७, कर्णालीमा ३१ र सुदूरपश्चिम प्रदेशमा ७५ जना १८ वर्षभन्दा मुनिकाले यस अवधिमा आत्महत्या गरेका थिए।
चिकित्सा मनोविद् सिर्जना अधिकारी बदलिंदो परिवेशमा इन्टरनेट, साइबर हिंसा, विद्यालयमा हुने हिंसा आदिका कारण बालबालिकामा आत्महत्याको दर बढेको बताउँछिन्।
मनोसामाजिक सहयोगले आत्महत्या रोकथाम गर्न सहयोग गर्छ
व्यक्तिको भोगाइलाई उसकै आँखाबाट नहेरेसम्म ऊप्रतिको टिप्पणी सतही मात्र हुन्छ। मनोचिकित्सक डा. कमल गौतमका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिका सोच, व्यवहार, भावना र सम्बन्धमा परिवर्तन आउँछ। यस्ता व्यवहार झट्ट हेर्दा समाजले ‘सामाजिक’ ठानेको भन्दा विपरीत देखिन्छन्।
मानसिक स्वास्थ्यको महत्त्व र आत्महत्याको विषयमा सामान्य जानकारी पनि नभएपछि विशेषगरी महिलाको हकमा समाजले उसलाई घमन्डी करार गरिदिन्छ। घरको जिम्मेवारी बोध नगर्ने बुहारीको पहिचान दिन्छ। मायाममता नभएकी स्वार्थी महिलाको पगरी भिराइदिन्छ।
मनोचिकित्सकका अनुसार यदि कसैले आत्महत्या गर्ने कुरा गर्छ भने त्यस्ता व्यक्तिलाई बेवास्ता गर्नु साटो ध्यान दिएर सुन्नुपर्छ। उपचारका लागि उत्प्रेरित गर्नुपर्छ। सही समयमा पाएको मनोचिकित्सा वा मनोसामाजिक सहयोगले व्यक्तिको ज्यान बच्न सक्छ।
महिला भावनात्मक र मनोसामाजिक रूपमा अस्वस्थ छिन् भन्ने कुरा न परिवारलाई महसूस भएको हुन्छ न समाजलाई नै।
तर महिलालाई मनको साटो शरीरको रोग लागेको भए सान्त्वनाका पोका बोकेर भेट्न आउने आफन्तहरूको सम्भवतः लर्को लाग्थ्यो। सामान्यतः कसैलाई प्राणघातक रोग लाग्यो भने उसको उपचारार्थ समाज एकजुट हुन्छ। सामाजिक सञ्जालमा गर्वका साथ सहायता रकम सङ्कलन हुन्छ। तर अप्ठ्यारा परिस्थितिलाई सकारात्मक तरीकाले सामना गर्न नसकेर, सहयोगी हातको अभाव महसूस भएर, भविष्य अन्धकार देखेर आफ्नो ज्यानको माया मारेको मान्छेलाई चाहिं घृणाको दृष्टिकोणले हेरिन्छ।
मनोविद्का अनुसार भावनात्मक रूपमा अप्ठ्यारो अवस्थामा भएको व्यक्तिलाई माया, ममता, साथ र सहयोग चाहिन्छ। उसलाई सुन्ने मान्छे चाहिन्छ। उसका भावनाहरूलाई मान्यता दिने मान्छे चाहिन्छ। यस्ता व्यक्तिलाई मनोसामाजिक सहयोगको आवश्यकता हुन्छ। किनकि मनोसामाजिक सहयोगले व्यक्तिको दबिएर बसेका कुण्ठाहरू सजह तरीकाले फुकाउन मद्दत गर्दछ। स्वयंसँग भएका स्रोतसाधनको प्रयोगमा निखार ल्याउन सहयोग गर्छ। आत्मसम्मान र आत्मविश्वास कायम राख्न सहयोग गर्छ।
मनोसामाजिक सहयोगले व्यक्तिको आत्मनिर्णय लिने क्षमतामा टेवा पुर्याउनुका साथै आत्महत्या रोकथाम र न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्छ।
आत्महत्याका पछाडि जैविक, मनोवैज्ञानिक, सामाजिक लगायत विविध कारण हुन सक्छन्। त्यसैले आत्महत्या न्यूनीकरणका लागि व्यक्ति, परिवार, समाज र राज्य सबैले आआफ्नो ठाउँबाट गम्भीर भएर अगाडि बढ्नुपर्ने हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार परेको राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ मा आत्महत्याको सोच भएका र जोखिममा रहेका व्यक्तिको मानसिक स्वास्थ्य सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको छ। तर यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सम्बन्धित व्यक्तिले लाभ लिन पाएका छैनन्।
विश्व स्वास्थ्य संगठनले आत्महत्या रोकथामका लागि प्रमाणमा आधारित मुख्य चार हस्तक्षेप सिफारिश गरेको छ। ती हुन्- आत्महत्यामा प्रयोग हुने स्रोत र साधनमा सीमितता गर्ने, किशोरकिशोरीमा सामाजिक र भावनात्मक सीपको उजागर गर्ने, सञ्चारमाध्यमको जिम्मेवार रिपोर्टिङ र जोखिम भएका व्यक्तिको समयमा पहिचान, लेखाजोखा, व्यवस्थापन र निरन्तर निगरानी गर्ने।
आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा सङ्केत देखाइरहेका हुन्छन्। परिवार, इष्टमित्रहरूसँग बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने, लागूपदार्थको अत्यधिक प्रयोग गर्ने, बारम्बार आफू मर्ने वा आफ्नो ज्यान फाल्ने कुराहरू गर्ने, समाज र परिवारबाट आफूलाई टाढा राख्ने जस्ता लक्षण देखाइरहेका हुन्छन्।
मनोचिकित्सकका अनुसार यदि कसैले आत्महत्या गर्ने कुरा गर्छ भने त्यस्ता व्यक्तिलाई बेवास्ता गर्नु साटो ध्यान दिएर सुन्नुपर्छ। उपचारका लागि उत्प्रेरित गर्नुपर्छ। सही समयमा पाएको मनोचिकित्सा वा मनोसामाजिक सहयोगले व्यक्तिको ज्यान बच्न सक्छ।
यदि कसैलाई आत्महत्या सम्बन्धी सोच आएमा राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा फोन गरी चौबीसै घण्टा निःशुल्क सहयोग लिन सकिन्छ।
(लेखक मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग क्षेत्रमा कार्यरत छन्।)