इजरायलमा भएको आक्रमणमा नौ नेपाली घाइते, दुई गम्भीर
इस्लामिक प्रतिरोध आन्दोलन (हमास)ले इजरायलमा गरेको आक्रमणमा नौ जना नेपाली पनि घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ।
हमासले आक्रमण गरेको क्षेत्रमा नेपाली पनि कार्यरत रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार नेपाली कार्यरत फार्ममा पनि हमासले आक्रमण गरेको हो।
फार्ममा १४ जना नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये नौ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली राजदूतावासले सम्पर्क गरिरहेको जनाइएको छ। घाइतेको उपचार र फार्ममा रहेका अन्य नेपालीको उद्धारका लागि प्रयास भइरहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
इजरायलमा देखिएको तनावको अवस्थालाई ध्यानमा राखेर सतर्क रहन त्यहाँ रहेका नेपालीलाई दूतावासले आग्रह गरेको छ। इजरायली अधिकारीले दिएको सुरक्षाका उपाय पालना गर्न पनि परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।
हमासले गरेको रकेट आक्रमण र घूसपैठका क्रममा शनिबार बिहानदेखि कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ।
प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाई, समुद्री र स्थल आक्रमण गरेको हो। यसअघि प्राप्त जानकारीमा गाजापट्टीमा भएको आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली अधिकारीले पुष्टि गरेका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए।
यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। “गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते छन्,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हमासले गरेको रकेट आक्रमणको जवाफमा इजरायलले हवाई आक्रमण गरेको जनाइएको छ।