कोशीका मुख्यमन्त्री कार्कीको राजीनामा
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन्।
शनिबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरेका हुन्। सबै राजनीतिक दलसँग सहकार्य गर्न राजीनामाको घोषणा गरेको उनको भनाइ छ।
प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, “मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु। त्यही निर्णय तपाईंहरू समक्ष सुनाउनका लागि उभिएको छु।”
यसअघि बसेको नेकपा (एमाले) प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीबाट राजीनामा दिने निर्णय गरेको थियो। प्रदेश सभामा विश्वासको मत नपुग्ने भएपछि एमाले संसदीय दल राजीनामाको निर्णयमा पुगेको हो।
आज प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मतका प्रस्ताव पेश गर्ने कार्यसूची थियो। त्यसलाई आजै निर्णयार्थ प्रस्तुत गरिने भएको थियो।
प्रदेश सभामा एमालेका ४० सांसद छन्। विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ।
गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्। गठबन्धनसँग स्पष्ट बहुमत छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन्। यसअघि राप्रपाले एमालेलाई समर्थन गरेको थियो। अहिले भने राप्रपाको समर्थनले पनि नपुग्ने भएपछि मुख्यमन्त्री कार्कीले राजीनामाको घोषणा गरेका हुन्।