राष्ट्र संघका महासचिवको खल्ती सजिएको त्यो लालीगुराँस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको खबरसँगै मलाई भने अघिल्लो भ्रमणको झझल्को आएको छ, जति वेला उनले झापामा पाएको लालीगुराँसलाई काठमाडौं फर्किँदासम्म खल्तीमा जतनले राखेका थिए।
संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस असोज २६ गते नेपाल भ्रमणमा आउँदै छन्। यस पटकको भ्रमणका क्रममा उनले चार दिन नेपालमा बिताउनेछन्।
यसअघि पनि गुटेरेस नेपाल आएका थिए। १६ वर्षअघि नेपाल भ्रमण गर्दा भने उनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को उच्चायुक्तका रूपमा आएका थिए।
त्यति वेला उनले झापास्थित भूटानी शरणार्थी शिविरको भ्रमण गरेका थिए। मैले उनको आधिकारिक फोटोग्राफरका रूपमा पछ्याउने मौका पाएको थिएँ।
त्यस वेला क्यामेरा मात्रै होइन, ल्यापटप पनि सँगै लगेको थिएँ। त्यसको कारण थियो, तस्वीर खिच्ने बित्तिकै पठाउन सकियोस्। सीधै न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा पठाउनुपर्थ्यो।
गुटेरेस झापाको गोलधाप शरणार्थी शिविरमा पुगेका थिए। त्यहाँ रहेका शरणार्थीले उनको भव्य स्वागत गरेका थिए।
भुटानी शरणार्थी बालबालिकाले गुटेरेसलाई लालीगुराँस दिएका थिए। त्यो उनलाई साह्रै मन परेको देखिन्थ्यो। बालबालिकाले दिएको लालीगुराँस जतनसँग खल्तीमा राखेका थिए। उनको शर्टको खल्तीमा रातो गुराँस सुहाएको पनि थियो।
शरणार्थी शिविरको भ्रमणपछि काठमाडौं फर्किन भद्रपुर विमानस्थल पुग्यौं। विमानस्थलबाटै मैले हतार हतार तस्वीरहरू इमेल गरेको थिएँ। त्यति वेला गुटेरेसको खल्तीमा लालीगुराँस भएको तस्वीरमा आँखा अडिएका थिए।
शरणार्थी शिविरमा खल्तीमा राखेको लालीगुराँस उनले भद्रपुर विमानस्थलमा पनि निकालेनन्। सँगसँगै काठमाडौं फर्कियौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेपछि पनि उनको खल्तीमै थियो, लालीगुराँस।
फोटो पत्रकारिताका क्रममा थुप्रै चर्चित व्यक्तिको तस्वीर खिच्ने मौका पाएँ। चर्चित व्यक्तिका तस्वीर खिच्दाको अनुभव बेग्लै हुन्छ। त्यहीमध्येका एक थिए, राष्ट्र संघका अहिलेका महासचिव गुटेरेस।
उनी फेरि नेपाल भ्रमणमा आउन लागेको खबरले झापा भ्रमणको याद आयो। पुराना तस्वीरहरू खोतल्दै जाँदा उही तस्वीरमा आँखा गड्यो, जुनमा उनको खल्तीमा लालीगुराँस थियो।
त्यति वेला उनले (यूएनएचसीआर) प्रमुखका रूपमा नेपालको भ्रमण गरेका थिए। त्यसले भूटानी शरणार्थी समस्या समाधानका लागि सहज भएको थियो।
यस पटक उनी राष्ट्रसंघको महासचिवका रूपमा नेपाल आउँदै छन्। यो भ्रमण पनि नेपालका लागि फलदायी होस्!