राष्ट्रपतिसँग विवेकशील साझाका नेताको भेटवार्ता
विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा विवेकशील साझाका पदाधिकारीले ‘संघीय लोकतान्त्रिक गणतन्त्र संवर्द्धन अभियान’ बारे जानकारी गराएका छन्। विवेकशील साझाले यो अभियान सञ्चालन गर्न लागेको छ।
विवेकशील साझाका अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा. सुशील साह सम्मिलित टोलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि यसका आधारस्तम्भहरू राष्ट्रपति, अदालत तथा संवैधानिक निकायको गरिमा बचाइराख्न राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ।
भेटवार्ताका क्रममा उनीहरूले यी संस्थालाई दलीयकरणबाट मुक्त राख्नुपर्नेमा जोड दिएका छन्। संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनका लागि सबै दललाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाह गर्न राष्ट्रपतिलाई अनुरोध गरिएको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले बताए।
राष्ट्रपति पौडेलले संविधानको रक्षा र संवर्द्धन गरेर मुलुकको समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए।