कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभामा विश्वासको मत लिंदै छन्।
प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन्। विश्वासको मतको प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्।
प्रदेश सभाको आजको कार्यसूचीमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपाधारा ४ तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १२८ (४) बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने।’
कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्यमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभाबाट लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले बदर गरेको थियो। प्रदेश सभाको अध्यक्षता गरेका सांसदले पनि मतदान गरेकाले सर्वोच्चले संविधान विपरीत भएको ठहर गरेको थियो।
थापाले विश्वासको मत नपाएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ मा व्यवस्था गरिएको छ। त्यही व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
कोशी प्रदेश सभामा ९३ सांसद छन्। विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। तर नेकपा (एमाले) संसदीय दलका नेता कार्कीसँग अहिले ४० सांसद मात्रै छन्। उनी अन्य पार्टीको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन्।
गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।
राप्रपाले विश्वासको मत दिए पनि कार्की सरकार ढल्नेछ। एमाले र राप्रपाको जोड्दा ४६ सांसद मात्रै पुग्छन्। विश्वासको मतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।
त्यसपछि गठबन्धनमा रहेका दलहरूले सरकार बनाउनेछन्। उनीहरूसँग स्पष्ट बहुमत छ। चारै दलका ४७ सांसद छन्।