मानव अधिकार आयोगले सरकारसँग माग्यो माफी मिनाहा विवरण
चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर योगराज (रिगल) ढकाललाई दिएको माफीको चर्को विरोध भएपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकारसँग राष्ट्रपतिबाट भएको माफी मिनाहा सम्बन्धी विस्तृत विवरण मागेको छ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेखेर विस्तृत विवरण मागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका थिए।
अध्यक्ष मगरले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनेका छन्, ‘पीडितको न्याय पाउने अधिकारको सुनिश्चित गर्न र दण्डहीनतालई प्रश्रय दिने यस प्रकारका कार्य हुन नदिन सम्माननीयज्यूबाट सम्बन्धित निकायलाई निर्देशन हुन र गणतन्त्र दिवस तथा संविधान दिवसको दिन सम्माननीय राष्ट्रपतिज्यूबाट माफी मिनाहा भएका व्यक्तिहरूको विस्तृत विवरण यस आयोगलाई उपलब्ध गराइदिन सम्बन्धित निकायमा निर्देशन हुन समेत अनुरोध गर्दछु।’
मुलुकी फौजदारी कार्यविधि संहितामा ज्यान मारेको मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था हुँदाहुँदै राजनीतिक पहुँचकै आधारमा माफी मिनाहा पाउने अवस्थाले न्यायपूर्ण वातावरण सिर्जना हुन नसक्ने, आपराधिक प्रवृत्ति बढ्दै जाने, दण्डहीनताले प्रश्रय पाउने, सर्वसाधारणमा राज्यप्रति वितृष्णा उत्पन्न भई शासन व्यवस्थामाथि नै प्रश्न खडा हुने आयोगको ठहर छ। मौलिक हकका रूपमा रहेको अपराध पीडित व्यक्ति वा परिवारको अधिकार कुण्ठित हुने र राज्यका निकायहरूप्रति नागरिकको विश्वास खस्कन गई त्यस्ता संस्थाहरू विवादित हुँदै जाने सम्भावना रहने पत्रमा उल्लेख छ।
२०७२ सालमा नेपालगन्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएपछि खुँडा प्रहार गरेर हत्या गरेको ठहर भएपछि अदालतले रिगललाई १२ वर्ष कैद सजाय सुनाइएको थियो। सरकारले भदौ २९ मा रिगल लगायतको कैद मिनाहा दिने निर्णय गर्यो। त्यसकै आधारमा राष्ट्रपतिले उनको कैद मिनाहा गरिदिएका थिए।
राष्ट्रपतिले रिगललाई माफी दिएपछि चेतनकी पूर्व पत्नी भारती शेर्पा माइतीघरमा अनशन बस्दै आएकी छन्। बुधबार अनशन बसेर सर्वोच्च पुगेकी उनी अदालत परिसरमै बेहोश भएकी थिइन्।
१८ असोजमा सर्वोच्च अदालतले रिगलको कैद मिनाहामा कारण देखाउ आदेश जारी गरेको छ।