दिगो विकास लक्ष्यका सहयोगी थिए सुवास नेम्वाङ: आवासीय संयोजक हाम्डी
नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ बहुपक्षीय सहयोगको आयाम र महत्त्वबारे जानकार रहेको बताएकी छन्।
गत भदौ २६ मा दिवंगत अध्यक्ष नेम्वाङको स्मृतिमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै आवासीय संयोजक हाम्डीले दिगो विकास लक्ष्यमा पनि नेम्वाङको महत्त्वपूर्ण योगदान रहेको बताइन्। “संयुक्त राष्ट्रसंघीय आँखाबाट हेर्नुपर्दा म के भन्न चाहन्छु भने आफ्नो कार्यकालमा उहाँले दिगो विकास लक्ष्यमा धेरै सहयोग गर्नुभयो,” उनले भनिन्।
आफूले नेम्वाङसँग संक्रमणकालीन न्यायको सन्दर्भमा नजिक भएर काम गर्न पाएको उनले स्मरण गरिन्। हाम्डीले भनिन्, “उहाँ शान्ति प्रक्रियाको पनि एक पक्ष सरह हुनुहुन्थ्यो र यसलाई तार्किक निष्कर्षमा पुर्याउनुपर्छ भनेर आफ्नो ठाउँबाट लागिपर्ने व्यक्ति हुनुहुन्थ्यो।”
कार्यक्रममा नेपालका लागि यूरोपेली संघ, नर्वे, बेलायत र फिनल्यान्डका राजदूत तथा नेपालका लागि अमेरिकाका सहायक राजदूत, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति थियो।
सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले संविधानको मौलिक हक सम्बन्धी प्रावधानमा नेम्वाङको विशेष योगदान रहेको बताए। संविधान निर्माणसँगै लोकतन्त्रीकरण र मानव अधिकारको क्षेत्रमा पनि नेम्वाङले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको फुयाँलले उल्लेख गरे।
राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले नेम्वाङबाट आफूले संसदीय प्रक्रिया र सांसदको भूमिकाबारे धेरै जानकारी प्राप्त गरेको बताइन्। पौड्यालले भनिन्, “उहाँ साँच्चै राम्रो मेन्टर हुनुहुन्थ्यो।”
कार्यक्रममा राजनीतिशास्त्री टीका ढकालले नेम्वाङको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। ढकालले राजनीतिकर्मी मात्रै भन्दा नेम्वाङको परिचय अपूरो हुने बताए।
कार्यक्रम आयोजक टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले नेम्वाङले राष्ट्रिय सभा सदस्य रहेका वेला राष्ट्रिय मानव अधिकार आयोग गठनमा गरेको योगदानको चर्चा गरे। पत्रकार कनकमणि दीक्षितले नेम्वाङको निधनबाट मुलुकले संविधानको वास्तविक व्याख्याता गुमाएको बताए।