पाँच लाख पर्यटक भित्र्याउने गाउँ
युवा तथा तन्नेरी विदेश र शहरतिर पलायन भएर गाउँ रित्तिँदै गइरहेको वेला बर्दियाको एउटा गाउँले भने गत ११ वर्षमा पाँच लाख आन्तरिक पर्यटक भित्र्याएको छ।
जसै भदौरे झरी निर्खिएर शरदीय घाम लाग्न थाल्छ, बर्दियाको डल्ला गाउँका बासिन्दा चाडपर्वको तयारीमा झैं घरआँगन पोत्न, झाडी सफा गर्न थाल्छन्। पाहुनाको स्वागतको तयारी गर्छन्। मिठोमसिनो जुटाउँछन्।
असोजदेखि त गाउँ उत्सवमय नै हुन्छ। नयाँ मान्छेको चहलपहल बढ्छ। घरघरमा पाहुनाको आगमन हुन्छ। यो क्रममा वैशाखसम्म रहन्छ। यसको कारक हो, डल्ला होमस्टे।
बर्दिया सदरमुकाम गुलरियाबाट ३० किलोमिटर उत्तर-पश्चिमस्थित डल्ला होमस्टेमा देशभरबाट आन्तरिक पर्यटक आउँछन्। होमस्टे शुरू भएदेखि गत वर्षसम्म रात बिताउने पर्यटकको संख्या ५० हजार नाघेको थियो। अझ बिहान आएर बेलुका फर्कने पर्यटक त पाँच लाखभन्दा बढी रहेको डल्ला होमस्टे अध्यक्ष परशुराम थारू बताउँछन्।
डल्लामा यसरी पर्यटक आउन थालेको २०६७ बाट हो। डल्लामा २०६७ फागुण १७ गते होमस्टे खोलिएको थियो।। शुरूआतमा ११ घरमा होमस्टे सञ्चालन गरिएको थियो। अहिले त्यो २४ घरमा फैलिएको छ। “आफ्नो घरमा होमस्टे नहुनेले पनि कृषि उत्पादन गरेर जीविकोपार्जन गरेका छन्,” अध्यक्ष परशुराम भन्छन्, “घरै बस्ने महिलाले पनि पाहुनाको सत्कार गरेर महीनाको सात-आठ हजार कमाइरहेका छन्।”
यसले गाउँमा रोजागरी पनि सिर्जना गरेको उनी सुनाउँछन्। जसले गर्दा युवा पनि गाउँमै कामकाजमा व्यस्त हुन्छन्। “जागिरकै लागि कसैले गाउँ छोड्नु परेको छैन,” परशुराम भन्छन्।
खाता जैविकमार्गमा पर्ने यो गाउँ भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ। जसले गर्दा खाता जैविकमार्ग भएर हात्ती, गैंडा लगायतका वन्यजन्तु गाउँ पसिरहन्थे। खेतबारीको तोरी, मकै, मुसुरो खाइदिन्थे। वन्यजन्तुबाट बाली जोगाउन क्यामोमेल, सिथ्रोनेलका विरुवा जंगल छेउछाउमा लगाउथे।
त्यतिवेला मेन्था, क्यामोमेल, सिथ्रोनेला, लेमनग्रासको जडिबुटीजन्य उपयोग हुने भएकाले बजार भाउ पनि राम्रै थियो। तर, बजार भाउ घट्न थालेपछि भने किसान निरास भए। खेती वन्यजन्तुले नास गरिदिने र जडिबुटीले पनि भाउ नपाउने भएपछि जीविकोपार्जन गर्न मुस्किल भयो।
अनि, संरक्षणमा पनि सहयोग पुग्ने र वैकल्पिक आम्दानी पनि हुने उपायको रूपमा होमस्टे शुरू भयो। होमस्टेको सम्भाव्यता र सहकार्यको लागि विश्व वन्यजन्तु कोष र बर्दिया राष्ट्रिय निकुञ्जले सघायो।
होमस्टे भएर मात्रै पुग्दैन। त्यसमा बस्ने गरी पर्यकटलाई आकर्षित गर्न त वन्यजन्तु हेर्न पाउने वातावरण हुनुपर्यो। त्यसको शुरूआत गाउँकै शिव सामुदायिक वनमा वन्यजन्तुलाई पानी खाने चार वटा पोखरी बनाएर गरियो।
जंगलबाट गैंडा आएर पोखरीमा बस्न थाले। हात्ती र बाघ पनि पोखरीमा पानी खान आउन थाले। त्यही समुदायिक वनमा २०६९ सालमा गैंडाले बच्चा जन्मायो। गाउँलेले गैंडाको अभिभावकत्व लिए। “मान्छेले आफ्नो बच्चाको न्वारन गर्न छोडे, तर डल्ला गाउँमा गैंडाको बच्चाको न्यारन गरियो,” होमस्टेबारे अध्ययन गरेका संरक्षणकर्मी तिलक ढकाल भन्छन्, “गैंडाको बच्चा जन्मिँदा उत्सव मनाए।”
त्यो गैडाको बच्चाको नाम शिवु राखियो। त्यसमा स्थानीय बासिन्दासँगै संरक्षणकर्मी पनि सहभागी भए। अहिले पनि शिवु त्यही क्षेत्रमा छ। त्यसले स्थानीय बासिन्दालाई वन्यजन्तुसँग नजिक मात्रै बनाएन, गाउँको प्रचारप्रसार पनि भयो।
त्यसपछि पनि होमस्टे चल्ला कि नचल्ला भन्ने संशय नै थियो। अध्यक्ष परशुराम शुरूआत सम्झिन्छन्, “बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको ठाकुरद्वार वरिपरि करोडौं लगानीका सुविधायुक्त ३०-३५ वटा रिर्सोट थिए, रिसोर्ट छोडेर हाम्रो छाप्रोमा को आउला जस्तो लाग्थ्यो।”
स्थानीयले गरेको मेहनत खेर गएन। विस्तारै आगन्तुकले होटेल र होमस्टेको फरक बुझ्दै गए। थारू परिकार, सांस्कृतिक कार्यक्रम, गाउँले मौलिकता, वेशभूषा, चालचलन हेर्न आन्तरिक पर्यटक आउन थाले। यसको संरक्षण गर्नुपर्नेमा स्थानीयले जोड दिए। “विस्तारै पर्यटकको घुइँचो लाग्न थाल्यो,” उनी भन्छन्।
डल्ला गाउँका घरमा दुई त कुनै घरमा चार वटा कोठासम्म होमस्टेका लागि छुट्याइएको छ। ११४ घरधुरीको थारु बहुल यो वस्तीमा २४ घरमा होमस्टे छ। अन्यले तरकारी खेती, कुखुरा, गाईवस्तु, बाख्रा पालेका छन्। जसको उत्पादन गाउँमै खपत हुन्छ, बजार खोज्न दौड्नुपर्दैन।
डल्ला गाउँले दैनिक ८० देखि १४० जनालाई सत्कार गर्नसक्छ। दिनकै दुई-तीन बसमा पाहुना आउँछन्। असोजदेखि वैशाखसम्म पाहुनाको भीड लाग्छ। जेठको गर्मीदेखि पाहुना कम हुन्छन् र वर्षातसम्म सुनसान हुन्छ। जसै असोज लाग्छ, फेरि पाहुनाको लर्को लाग्छ।
नेपालमा होमस्टेको प्रवर्द्धनमा खटिएका ढकाल डल्ला नेपालको समुदायिक प्रयासको नमुना भएको बताउँछन्। “संरक्षणको लाभको न्यायोचित वितरण कसरी हुन्छ भन्ने उदाहरण डल्ला होमस्टेले देखाएको छ,” ढकाल भन्छन्।
डल्ला गाउँको एकातिर भारतको वन्यजन्तु आरक्ष छ भने अर्कोतिर बर्दिया राष्ट्रिय निकुञ्ज छ। जंगलबाट आउने वन्यजन्तुले बाली नोक्सान गर्थे। मान्छेले वन्यजन्तुलाई निको मान्दैनथे। तर, होमस्टेले सबै परिवर्तित गरिदिएको ढकाल बताउँछन्।
अहिले सामुदायिक वनको बीचमा रूखको घर (ट्रि हाउस) बनाइएको छ। वन्यजन्तुको जोखिम नहोस् र प्राकृतिक आनन्द लिन सकियोस् भनेर जमिनभन्दा माथि बनाइएको यो घरबाट चित्तलको बथान, गैंडा, जंगली हात्ती र बाघ हेर्न सकिन्छ।
रुखको घरमा पाहुनालाई रात्रि बासको पनि व्यवस्था गरिएको छ। “रुखको घरमा आठ जनासम्म बस्न सक्छन्,” अध्यक्ष परशुराम भन्छन्, “पाहुनालाई एक दिन, एक राता त्यहीं बस्ने सुविधा छ।”
वन्यजन्तु हेर्न होमस्टेमा मान्छे आउन थालेपछि आयआर्जन भयो। जसले स्थानीय बासिन्दामा वन्यजन्तु जोगाउनु पर्छ भन्ने सोचाइ आयो। यसरी संरक्षणको लाभ स्थानीय बासिन्दाले पाएपछि वन्यजन्तु संरक्षण र समुदायको जीविकोपार्जनको पाटो सँगैसँगै अघि बढेको ढकाल बताउँछन्। “बेलायतका राजकुमार ह्यारी पनि आए। आखिर एउटा हामेस्टेले बेलायती राजकुमारलाई स्वागत गर्ने हैसियत बनायो,” ढकाल भन्छन्।
बेलायतका राजकुमार ह्यारीको आगमनले भने डल्लालाई अन्तर्राष्ट्रिय स्तरमा पनि पचिरित गराएको छ। त्यसयता वाह्य पर्यटकको संख्या पनि बढ्दै गएको अध्यक्ष परशुराम बताउँछन्।
डल्लाको देशभरी सिको गरिएको छ। डल्लापछि अमलटारीमा होमस्टे बन्यो। त्यसपछि कैलालीमा रानाथारू होमस्टे बन्यो, अनि गावर भ्यालीमा पनि होमस्टे बन्यो। अहिले झापादेखि कञ्चनपुरसम्म तराई क्षेत्रमा मात्रै ५० भन्दाबढी होमस्टे छन्।
देशका ६८ जिल्लामा एक हजार ५०० भन्दा बढी होमस्टे छन्। आन्तरिकसँगै वाह्य पर्यटकलाई तानिरहेका छन्। ति गाउँमा स्वरोजगार पनि बढेको छ। गाउँकै उत्पादनले गाउँमै बजार पाएको छ भने युवालाई गाउँमै रोजगारी दिएको छ।