मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर आफ्नो पार्टीका मन्त्रीलाई जिम्मेवारी दिएका छन्।
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा जिम्मेवारीविहीन भएर बसिरहेकी मन्त्री सुरिताकुमारी साहलाई खेलकूद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसका लागि मुख्यमन्त्री यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
यसअघि जनमत पार्टीका नेता महेश यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय सम्हाल्दै आएका थिए। यो मन्त्रालय टुक्र्याएर शिक्षा तथा संस्कृति र खेलकूद तथा समाज कल्याण मन्त्रालय बनाइएको छ।
शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका यादवलाई नै दिइएको छ भने जनता समाजवादी पार्टी (जसपा) की साहले खेलकूद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएकी छन्।
मन्त्री साहले यसअघि नै मन्त्रीको शपथ लिएकी थिइन्। तर, मन्त्रालय नहुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेरिरहेकी थिइन्।
जनमत पार्टी मधेश प्रदेश दलका नेता समेत रहेका मन्त्री यादवले भने कुनै छलफल नै नगरी मन्त्रालय टुक्र्याएकोमा आपत्ति जनाएका छन्। “कुनै छलफल विना नै मन्त्रालय फोड्नु राम्रो भएन। हामी सरकार छोड्नेसम्ममा पुग्नेछौं,” उनले भने।
यस विषयमा पार्टी केन्द्रमा र गठबन्धनलाई पनि जानकारी गराइसकेको उनले बताए।