क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक
क्यानडाको साङ्गीतिक यात्रामा रहेको लोक-रक ब्यान्ड नेपथ्यले क्यालगरीपछि दोस्रो कन्सर्ट भ्यानकुभरमा गरेको छ।
‘सा कर्णाली’ को म्युजिक भिडिओ प्रदर्शनीबाट शुरू गरिएको कन्सर्टलाई वैदेशिक रोजगारीमा गएकाहरूको भावमा बुनिएको ‘मै मरी जाउँला’ गीतले निरन्तरता दिएको थियो।
मञ्चमा नेपथ्य टोली आएपछि ब्यान्डले पहिलो प्रस्तुतिमा ‘कोशीको पानी’ पस्कियो। त्यसपछि ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो।
कार्यक्रमस्थलमा नेपालबाट पढ्न भर्खरै क्यानडा आएका सिर्जन भण्डारी पनि थिए। यहाँ आएर नेपालीहरूसँग सङ्गत गर्न पाए अलि सहज हुन्थ्यो भनेर सोचिरहेको वेला नेपथ्यको कन्सर्टले साथी मात्र नभई दाजुभाइ-दिदीबहिनी समेत बनाउने मौका जुराइदिएको प्रतिक्रिया उनले दिए।
कन्सर्टको दशौं प्रस्तुतिका रूपमा ब्यान्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो। नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्यान्डले थालेको ‘मानवताका लागि सङ्गीत’ अभियानबारे पनि बोले। “सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरू देख्दा दिक्क लाग्थ्यो,” अमृतले भने, “केही वर्षयता मानव सेवा आश्रमले त्यस्ता मानिसको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौं।”
कन्सर्टको अन्त्यतिर अमृतले दर्शकसँग ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गरेका थिए। त्यसमा अधिकांश दर्शक चिच्याए, “रेशम!”
दर्शकको चाहना अनुसार ‘रेशम’ सुनाएपछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि कार्यक्रमको समापन भएको थियो।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
क्यानडामा अर्को कन्सर्ट टोरन्टोको म्यासी हलमा अक्टोबर ८ मा हुनेछ। शोका निम्ति टोली टोरन्टो पुगिसकेको छ।
यी कन्सर्टमा क्यानडामा रहेका विद्यार्थीका निम्ति विशेष छूटको व्यवस्था गरिएको नेपथ्य ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयले जनाएको छ। अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइटबाट पनि उपलब्ध गराउने व्यवस्था मिलाएको छ।