हारजित हुँदा मन दुख्छ, सहमति गर्नुस्: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नेतृत्व चयनका लागि सहमति गर्न आग्रह गरेका छन्।
एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका हुन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “कतिपय विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टीकाटिप्पणी गर्ने गरेको एमालेमा भिडन्त भयो भनेर हौवा फैलाएका छन्।”
त्यसलाई चिर्न पनि सहमति गर्नुपर्ने ओलीको भनाइ थियो। “हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस्,” ओलीले भने, “सहमति नभए लोकतान्त्रिक अभ्यास त छँदै छ।”
कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि एमालेले बहुमत प्राप्त गर्नुपर्ने जिकिर गरे। उनले त्यसका लागि नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए।
एमालेका भौगोलिक प्रदेश कमिटीको अधिवेशन सकिन लागेको छ। गैह्रभौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन शुरू भएको हो।
अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनका लागि ३०४ प्रतिनिधि छनोट भएका छन्।
विशेष प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदूर, विद्यार्थी र उद्योगी-व्यवसायी गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी रहेको कमिटीका अध्यक्ष प्रेमकुमार पराजुलीले बताए।