संयुक्त राष्ट्रसंघका महासचिवलाई द्वन्द्वपीडितले पठाए पत्र
नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपालका द्वन्द्वपीडितले पत्र पठाएका छन्।
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक मार्फत शुक्रबार पत्र पठाइएको हो। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिमा विचाराधीन विधेयकले वर्षौंदेखि आफूहरूले उठाइरहेको विषय नसमेटेको पत्रमा गुनासो गरिएको छ।
उनीहरू पत्रमा भनेका छन्, ‘विगतमा हामीसँग केही छलफल र बैठकहरू भए पनि गोप्य रूपमा विधेयक तयार पारियो, जसमा हामीले विरोध जनाइरहेका विषय पनि समेटिएका छन्।’
विधेयकमा ‘मानव अधिकार उल्लंघन’ र ‘गम्भीर मानव अधिकार उल्लंघन’ भनेर द्वन्द्वकालमा घटेका घटनालाई वर्गीकृत गरिएकाले गम्भीर मानव अधिकार उल्लंघनका दोषी पनि कारबाहीको भागीदार हुनेमा शङ्का जनाइएको छ। विधेयकमा व्यवस्था गरिएको सिफारिश समितिको विश्वसनीयता र स्वतन्त्रताबारे पनि शङ्का गरिएको छ।
त्यस्तै, यौनजन्य हिंसाका पीडितले अहिले पनि सुरक्षित महसूस गर्न नसकेको गुनासो गरिएको छ। “पीडित र प्रत्यक्षदर्शीको संरक्षण गर्ने संयन्त्र नभएकाले र विधेयकमा पनि त्यसबारे बन्दोबस्त नगरिएकाले यौन दुर्व्यवहारका पीडितहरूमा आफू सार्वजनिक भइने डरले उजुरी दर्ता गर्ने आँट आइरहेको छैन,” पत्रमा भनिएको छ।
साथै, पत्रमा द्वन्द्वका वेला भएका मानव अधिकार उल्लंघनका घटनाबारे निर्णय दिने विशेष अदालतको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। यी सबै सन्दर्भ उल्लेख गर्दै नेपाल सरकारलाई संक्रमणकालीन न्याय छिटो टुङ्ग्याउन शक्ति प्रयोग गर्न अनुरोध गरिएको छ।
द्वन्द्वपीडितका तर्फबाट पठाइएको पत्रमा गोपालबहादुर शाह, सिर्जना श्रेष्ठ, कल्याण बुढाथोकी, सुशीला चौधरी लगायत २३ जनाले हस्ताक्षर गरेका छन्।