एशियाली खेलकूद : सेमिफाइनलमा भारतसँग पराजित भएपछि कांस्य पदकमै सीमित नेपाल
चीनको हाङचोउमा जारी १९औं एशियाली खेलकूदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ।
केही बेरअघि सम्पन्न महिला कबड्डीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कांस्य पदक प्राप्त गरेको हो। सेमिफाइनलमा भारतले नेपाललाई ६१-१७ अङ्कले पराजित गरेको हो।
नेपाल समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो। भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनल प्रवेश गरेसँगै नेपालले एशियाली खेलकूदमा कम्तीमा कांस्य पदक पक्का गरेको थियो। कबड्डीमा सेमिफाइनल पुग्ने चार वटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ।
महिला कबड्डीतर्फ नेपालले पहिलो पटक एशियाली खेलकूदमा भाग लिएको हो। नेपालको समूहमा इरान र बाङ्लादेश थिए। इरान समूह ‘बी’ को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो भने अहिले इरान समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेई विरुद्ध प्रतिस्पर्धा गर्दै छ।
नेपालले समूह चरणमा बाङ्लादेशलाई ३७-२४ अङ्कले पराजित गरेको थियो भने इरानसँग १९-४३ अङ्कले पराजित भएको थियो।
नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडू, सुनीता थापा, रबिना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारू र कलावती पन्त छन्। टोलीका प्रशिक्षक विष्णुदत्त भट्ट हुन्। -रासस