बझाङको चैनपुर केन्द्रबिन्दु भएर फेरि भूकम्प
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर गएराति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १०ः५१ मा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा १२ः२३ मा चैनपुर नै केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत मंगलबार दिउँसो २ः४० बजे बझाङकै तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने सोही दिन दिउँसो ३:६ बजे चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। लगत्तै ३ः१३ मा चैनपुरै केन्द्रबिन्दु भई ५.१ रेक्टर स्केल, ३ः४५ मा सुरमा केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो।
मंगलबारको भूकम्पमा परेर बझाङमा एक जनाको ज्यान गएको थियो भने दर्जनौं व्यक्ति घाइते भएका थिए। यस्तै, १३५ घरमा क्षति पुगेको थियो।
केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय जोखिमको क्षेत्र रहेकाले जुनसुकै वेला पनि भूकम्प जान सक्ने बताउँछन्। “विगत ५०० वर्षदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन, पछिल्लो समय उक्त क्षेत्रमा भूकम्प जान थालेको छ,” उनले भने।