श्रीनिवासाचार्य जरिवाना तिरेर रिहा
धर्मगुरु श्रीनिवासाचार्य ५०० रुपैयाँ जरिवाना तिरेर रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय, धनुषाले उनलाई ५०० रुपैयाँ जरिवाना गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। “जिल्ला प्रशासन कार्यालयमा ५०० जरिवाना तिरेर रिहा भएका छन्,” खड्काले भने।
उनी विरुद्ध बिहीबार जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको कसूरमा मुद्दा दर्ता गरिएको थियो। असोज १२ गते जनकपुरमा आयोजित र्यालीमा श्रीनिवासाचार्यले विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
त्यसपछि असोज १७ गते प्रहरीले उनलाई सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको थियो। यसअघि पनि उनी हतियार सम्बन्धी मुद्दामा पक्राउ परेका थिए।