नर्वेजियन लेखक युन फस्सलाई नोबेल साहित्य पुरस्कार
‘मेरा लागि लेखन भनेको श्रवण हो। मलाई थाहा छैन, म के सुनिरहेछु तर म सुनिरहेछु।’
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेजियन लेखक युन फस्सलाई प्रदान गरिने भएको छ। नोबेल कमिटीले ‘नसुनिएकाहरूको आवाज बनेका फस्सका नाटक र गद्यका लागि’ पुरस्कृत गरिएको जनाएको छ। नर्वेजियन भाषामा नाटक, उपन्यास, कविता, निबन्ध, बाल साहित्य र अनुवाद प्रकाशन गरेका उनी वर्तमान विश्वमा प्रख्यात नाटककार हुन्।
सन् १९५९ मा नर्वेको हार्डांगेर क्षेत्रको सानो गाउँमा जन्मिएका फस्सले बेर्जेन विश्वविद्यालयमा अध्ययन गरेका थिए। वयस्क जीवनको अधिकांश समय पूर्णकालीन लेखक बनेका उनले पत्रकार, लेखनशिल्पका शिक्षकका रूपमा पनि काम गरेका थिए।
सन् २०११ मा उनलाई नर्वेजियाली सरकारले सम्मानस्वरूप आवासको प्रबन्ध गरेको थियो। उनका विभिन्न उपन्यास, कविता, नाटक र निबन्ध ४० भन्दा बढी भाषामा प्रकाशित छन्।
सन् १९८३ मा उनको पहिलो उपन्यास रेड, ब्ल्याक प्रकाशित भएको थियो। तर उनी आफैं भने सन् १९८१ मा विद्यार्थीको पत्रिकामा प्रकाशित कथा ‘ही’ (ऊ)लाई पहिलो प्रकाशित साहित्य मान्छन्।
त्यसपछि उनको कलम कहिल्यै रोकिएन। उनले एकपछि अर्को नाटक, कविता, कथा, बालसाहित्य लेखे। सन् १९८९ मा उनको अर्को उपन्यास बोथहाउस प्रकाशित भएको थियो।
आफूलाई उपन्यासकार, कवि, निबन्धकार र बालसाहित्यकारका रूपमा स्थापित गरेपछि उनी नाटककार बनेका थिए। सन् १९९२ मा उनले पहिलो नाटक समवन इज गोइङ टु कम (कोही आउनका लागि गइरहेछ) भए पनि पहिलो पटक मञ्चन भएको नाटक भने एन्ड नेभर स्याल वी पार्ट (र शायद हामी कहिल्यै छुट्टिनेछैनौं) थियो। जुन सन् १९९४ मा बेर्जेनको न्याशनल थिएटरमा मञ्चन भएको थियो।
त्यति वेला लेखेका नाटकले उनलाई नर्वेजियाली रङ्गमञ्चमा त स्थापित गराए नै, विश्वजगत्मा पनि चिनाए। विश्वजगत्मा उनको प्रवेश भने सन् १९९९ मा भएको थियो जब उनको नाटक समवन इज गोइङ टु कम फ्रान्सेली निर्देशक क्वाउडे रेग्गीले प्रदर्शन गरे4।
अहिले संसारैभरि उनका नाटक मञ्चन हुन्छन्। उनले ३० भन्दा बढी नाटक लेखिसकेका छन्।
विश्वजगत्मा नाटककारका रूपमा प्रसिद्ध भए पनि उनले अन्य विधामा पनि उत्तिकै विशिष्ट शैलीमा लेखेका छन्। उनका मेलानकोली-१, मेलानकोली-२ लगायत उपन्यास चर्चित छन् जसका लागि उनलाई सन् २०१५ मा ‘नर्डिक काउन्सिल लिटरेचर प्राइज’ दिइएको थियो।
लेखनका साथ उनले साहित्य समीक्षा र प्रशस्त अनुवाद पनि गरेका छन्।
उनको अहिलेसम्मको लामो कृति सेप्टोलोजी हो जुन सन् २०१९ देखि २०२१ सम्मको अवधिमा लेखेका थिए। फस्सले सेप्टोलोजी लेखनको विधिलाई ‘सुस्त गद्य’ नाम दिएका छन्।
यो उपन्यासका सात भाग तीन खण्डमा प्रकाशित छन्। ती खण्ड हुन्- द अदर नेम (अर्को नाम), आई इज एनोदर (म अर्कै हुँ) र अ न्यू नेम (एक नयाँ नाम)। कला र ईश्वर, रक्सीको कुलत, मित्रता, प्रेम र समयबारे लेखिएको यो उपन्यास २० वटा भाषामा अनूदित छ।
लेखनबारे उनको विशिष्ट मान्यता छ। सन् २०२० मा ग्रान्टामा प्रकाशित एक अन्तर्वार्तामा उनले लेखनबारे आफ्नो धारणा यसरी व्यक्त गरेका छन्, ‘मेरा लागि लेखन भनेको श्रवण हो। मलाई थाहा छैन, म के सुनिरहेछु तर म सुनिरहेछु।’