सर्वोच्चद्वारा रिगललाई माफी दिनुको कारण माग
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहामा कारण देखाउ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार कारण देखाउ आदेश दिएको हो। सर्वोच्चले विपक्षीलाई सात दिनभित्र कारण पेश गर्न भनेको छ।
बाँकेका चेतन मानन्धरको हत्यामा कैद सजाय तोकिएका रिगललाई सरकारले संविधन दिवसको अवसरमा माफी दिएको थियो। त्यसका विरुद्ध भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग कैद मिनाहा गर्नुको कारण मागेको हो। यससँगै सर्वोच्चले यस रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न पनि आदेश दिएको छ।
२०७२ असार २८ मा रिगल लगायतले चेतनलाई नियन्त्रणमा लिएर हत्या गरेको थियो। रिगलको समूहले चेतनालाई खुँडा प्रहार गरेको थियो। त्यसमा उनलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो।
तर संविधान दिवसको अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिले कैदी मिनाहा गरेका थिए। यस विरुद्ध भारतीले माइतीघर मण्डलमा अनशन पनि बस्दै आएकी छन्।