रिगलको कैद मिनाहा विरुद्ध माइतीघरमा अनशन (तस्वीरहरू)
अस्पतालबाट डिस्चार्ज भएसँगै बिहीबार पनि भारती शेर्पा माइतीघर मण्डलमा अनशन बसेकी छन्।
नेपालगन्जका चेतन मानन्धरका हत्यारा योग ढकाल (रिगल)लाई राष्ट्रपतिले माफी दिएपछि भारती माइतीघरमा अनशन बस्दै आएकी छन्। बुधबार अनशन बसेर सर्वोच्च अदालतमा तारेख धान्न गएकी भारती बेहोश भएकी थिइन्।
त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। आज वीर अस्पतालबाट डिस्चार्ज भएसँगै उनी अनशन बस्न माइतीघर पुगेकी हुन्। न्याय नपाएसम्म अनशन जारी राख्ने उनले बताएकी छन्।
२०७२ असार २८ मा रिगल लगायतले चेतनलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए। रिगलको समूहले चेतनलाई खुँडा प्रहार गरेको थियो। त्यसमा उनलाई १२ वर्ष कैद सजाय सुनाइएको थियो।
तर संविधान दिवसको अवसरमा सरकारको सिफारिशमा राष्ट्रपतिले कैदी मिनाहा गरेका थिए। त्यसको विरोधमा उनले सर्वोच्च अदालतमा रिट पनि दिएकी छन्।