सुन तस्करी जाँचबुझ आयोगको कार्यालय स्थापना
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम शुरू गरेको छ।
सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा आयोगको कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापनासँगै कामकाज शुरू भएको आयोगका संयोजक डिल्लीराम आचार्यले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्व न्यायाधीश आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो। आयोगको सदस्यमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन्।
सरकारले आयोगलाई तीन महीनाभित्र अनुसन्धान सम्पन्न गरेर सुनको अवैध पैठारी तस्करीको नियन्त्रणका लागि सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलोग्राम सुन बरामद गरेको थियो। उक्त सुन ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको थियो।
प्रारम्भमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। सुन तस्करीमा संलग्न व्यक्ति विरुद्ध अदातलमा मुद्दा दायर गरिएको छ।