श्रीनिवासाचार्य विरुद्ध सार्वजनिक शान्ति खललमा मुद्दा दर्ता गरिने
धर्मगुरु श्रीनिवासाचार्य विरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले बिहीबार श्रीनिवासाचार्यलाई जिल्ला अदालतमा पेश गरेको थियो। उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।
प्रहरीले उनी विरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी गरेको छ। बयान लिने काम भइरहेको र आजै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्वराज खड्काले बताए।
“जिल्ला अदालतबाट तीन दिन हिरासतमा राख्न अनुमति मिलेको छ, हामी आजै मुद्दा दर्ता गराउने तयारीमा छौं,” खड्काले भने।
मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ। यसमा एक वर्ष कैद र १० हजार जरिवाना हुन सक्ने उल्लेख छ।
जनकपुरमा असोज १२ गते गौहत्याको विरोधमा आयोजना गरिएको र्यालीमा श्रीनिवासाचार्यले विवादास्पद अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
त्यसपछि असोज १६ गते सुनसरीको चक्रघट्टीबाट उनलाई पक्राउ गरिएको थियो। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।