साउदी उडेको विमान पाकिस्तानको आकाशबाटै काठमाडौं फर्कियो
काठमाडौंबाट साउदी अरबको दमामका लागि उडेको नेपाल वायुसेवा निगमको विमान गन्तव्यमा नपुग्दै काठमाडौं फर्किएको छ।
गएराति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको ‘आर ए ४१२’ विमान आज बिहान ४ बजेर ५१ मिनेटमा काठमाडौं अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त विमानको ‘टिकास उपकरण’ मा समस्या देखिएकाले पुनः काठमाडौं फर्काइएको हो।
पाकिस्तानको आकाशमा पुगेपछि प्राविधिक समस्या देखिएकाले विमान चालकले जहाज काठमाडौं नै फर्काएका थिए।
उडानका क्रममा अन्य विमान नजिक आएमा सङ्केत गर्ने उपकरणलाई टिकास भनिन्छ। “टिकास जहाजभित्रको सिस्टम हो, यसलाई ‘ट्राफिक अलर्ट एन्ड कोलिजन अभोइडेन्स सिस्टम’ भनिन्छ, जसले कुनै जहाज नजिक आएको खण्डमा सम्भावित जोखिमबाट जोगाउन आवश्यक निर्देशन दिन्छ,” महाप्रबन्धक तिवारीले भने।
उक्त विमानका यात्रुलाई अर्को विमान व्यवस्था गरेर गन्तव्यमा पठाइने विमानस्थलले जनाएको छ।